प्राधिकरण दुई सदस्य बर्खास्तीपछि माओवादीले भन्यो, ‘सरकारले अटोक्रेसी चलाउन खोज्यो, भिमान्त होटलको भेट रहस्यमयी’

प्राधिकरण दुई सदस्य बर्खास्तीपछि माओवादीले भन्यो, ‘सरकारले अटोक्रेसी चलाउन खोज्यो, भिमान्त होटलको भेट रहस्यमयी’

काठमाडौं : माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकार निरङ्कुश बन्न खोजेको आशंका व्यक्त गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई बर्खास्त गरेर सरकार देशमा निरङ्कुश हुन खोजेको आशंका पैदा भएको बताएका हुन्।

‘नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ,’ उनले भने, ‘सरकार यो देशमा अटोक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु।’

सापकोटाले अघिल्लो संसदको सार्वजनिक लेखा समितिले डेडिकेडेट फिडर र ट्रंक लाइनको सन्दर्भमा छानबिन गर्न पाँच सदस्यीय उपसमिति बनाएको स्मरण गराउँदै उनले त्यसले दिएको सुझावको आधारमा समितिले सरकारलाई दिएको निर्देशन समेत पढेर सुनाए।

सरकार र राज्यका संस्था अविच्छिन्न उत्तराधिकार भएका संस्थाहरू भएको भन्दै सापकोटाले त्यतिबेलाका लेखा समितिले गरेका निर्णयहरु कार्यान्वयन गराउनुको सट्टा सरकारले मनलाग्दी निर्णय गर्दै विद्युत् प्राधिकरणका सदस्यहरुको बर्खास्तीमा लागेको बताए।

स्पष्ट निर्णय हुँदा-हुँदै सार्वजनिक लेखा समितिका सभापतिले भएका निर्णयहरू उल्ट्याउन लागिपरेको विषय अनैतिक र घोर आपत्तिजनक भएको उनको भनाइ छ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले झगडिया र बक्यौता तिर्न बाँकी रहेका उद्योगीसँग भिमान्त होटलमा गरेको भेट रहस्यमयी रहेको बताए।

सभापति पोखरेलले बक्यौता तिर्न बाँकी रहेका उद्योगीहरूसँग भिमान्त होटलमा भेट गरेका थिए। त्यो भेटको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले एउटा नेपाली नागरिकले आफूलाई भेट्न सक्ने अभिव्यक्ति दिएका थिए।

सार्वजनिक लेखा समितिका सभापति पोखरेलले रहस्यमयी घटनाक्रमका लागि सभामुखबाट रुलिङको समेत माग गरे। पोखरेल एमालेका सांसद हु्न्।

साथै सांसद सापकोटाले संसदीय मूल्य मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको तर्फबाट हुने भन्दै सरकारले नैतिकता देखाउन नसकेको आरोप समेत लगाए।

साउन २०, २०८१ सोमबार १४:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।