‘बुढो मान्छे भएको ठाउँमा मात्र जाने’ भन्दै रास्वपा सांसद् सोबिता गौतममाथि दुर्व्यवहार

‘बुढो मान्छे भएको ठाउँमा मात्र जाने’ भन्दै रास्वपा सांसद् सोबिता गौतममाथि दुर्व्यवहार
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।

कागेश्वरी मनहरा नगरपालिका-६ स्थित मनकामना टोलमा राष्ट्रिय दलका युवा कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको बताएकी हुन्।

गाँजाको नशामा लठ्ठ भएको र रक्सीले मातिएका युवाहरूले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले त्यसबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले भनिन्, ‘ती युवाहरू एक्कासी मलाई घेर्न थाल्नुभयो। तपाईंहरु बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर मलाई प्रश्न गर्न थाल्नुभयो। चक्रव्यूह जस्तो रचियो। उहाँहरूले मुख छाडेर फोहारी शब्दहरू बोल्न थाल्नुभयो।’

आफूले नम्र शैलीमा आफ्ना कुरा राख्न आग्रह गरे पनि पार्टीगत किसिमका आक्षेप लगाउँदै दुर्व्यवहार गर्ने तरिकाले जम्मा भएको उनको भनाइ छ। त्यस विषयमा केही व्यक्तिले मोबाइलमा भिडियो खिचेको समेत बताइन्।

घटनापछि आफ्नो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी गराएको भन्दै सांसद गौतमले आफूमाथि अभद्र शैलीमा प्रस्तुत हुने व्यक्तिले नै भिडियो अपलोड गरेको बताइन्।

उनले पाए, ‘मैले त्यो भिडियो अपलोड गर्ने व्यक्तिको प्रोफाइल खोलेर हेरेँ, ती व्यक्ति मसँग अभद्र शैलीले प्रस्तुत भएका व्यक्ति नै रहेछन्। उनको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलमा रहेको संवेदनशील पदमा रहेको युवा साथी हुनुहुन्थ्यो।’

चौतारामा ढुकेर छोरी मान्छेलाई तर्साउने नियत अमर्यादित र जंगली भएको भन्दै सांसद गौतमले त्यसको जिम्मेवारी ती युवा सम्मिलित राष्ट्रिय दलले लिने कि नलिने भन्दै उनले प्रश्न समेत गरिन्। उनले सरकार समक्ष सुरक्षा चुनौतीका बारेमा गम्भीर भएर सोच्नुपर्नेमा समेत जोड दिइन्।

उनले प्रश्न गरिन् ‘अब म मेरो निर्वाचन क्षेत्रमा जाँदा कहाँ चौतारो र खाली स्थान छ भनेर डराउँदै हिँड्नुपर्ने हो सभामुख महोदाय?’

यस्ता गम्भीर विषयमा दलहरूले आफ्ना कार्यकर्ता र सरकारले सुरक्षा निकायहरूलाई खबरदारी गरेर काममा लगाउन समेत उनले सझाव दिइन्।

साउन २०, २०८१ सोमबार १४:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।