तीन सय दिनमा रंगशालाको सबै काम पूरा नहुने पारसको भनाइ, प्रधानमन्त्रीले भने- ‘हामी गर्छौँ’
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले तीन सय दिनभित्र त्रिवि क्रिकेट रंगशालाको सम्पूर्ण काम पूरा हुन नसक्ने बताएका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका क्यान सचिव खड्काले प्रधानमन्त्रीले घोषणा गरेको तीन सय दिनभित्र रंगशालाको काम सम्पन्न नहुने बताएका हुन्।
सचिव खड्काले प्रधानमन्त्री ओलीलाई भने, ‘हजुरले घोषणा गरेको तीन सय दिनको योजनालाई हामीले नीतिगत रूपमा प्रोजेक्ट प्लान बनाएका छौँ। तर, पहिलो प्राथमिकता फ्लडलाइटलाई राख्या छौँ। त्यसपछि कीर्तिपुर रंगशालालाई नौ वटा जोनमा विभाजन गरेका छौँ। फ्लडलाइट लागिसकेपछि जोन १, २, ३ बन्दै गरेको खण्डमा, फास्ट ट्र्याकमा गर्ने हो भने तीन सय दिनमा ८० देखि ९० प्रतिशत काम चाहिँ हुन्छ।’
सचिव खड्काले आफूहरूको पहिलो प्राथमिकता फ्लडलाइट भएको भन्दै त्यसका लागि फास्ट ट्र्याकबाट जाँदा १ सय २० दिनमा लागिसक्ने बताए। प्रधानमन्त्रीसँगको कुराकानीमा उनले पटक–पटक फ्लडलाइटमा जडानमा जोड दिए।
उनले थपे, ‘सबै प्रक्रिया पूरा गर्ने हो भने धेरै समय लाग्छ। हजुरकै निर्देशनमा सचिवालयबाट युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट समन्वय गरेर गर्दा फ्लड लाइटका लागि १२० दिन लाग्छ। तीन महिनामा बनिसक्छ।’
क्रिकेट संघका पदाधिकारीसहित खेलाडी र क्रिकेट प्रेमी कलाकारको उपस्थिति रहेको जमघटमा कलाकार प्रकाश सपुतले क्रिकेट रंगशाला तीन दिन सय दिनमा बनाउनका लागि स्रोत साधन अभाव भएको सन्दर्भमा विदेशमा बस्ने नेपाली डायस्पोराको समर्थनलाई स्रोतको रुपमा प्रयोग गर्न सकिने सुझाव दिए।
नायिका मिरुना मगरले पाठ्यक्रममौ खेलकुदलाई समावेश गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
सबैको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले त्रिवि क्रिकेट रंगशालालाई पहिलो प्राथमिकतामा राख्दै बाँकी रंगशालाहरुलाई पनि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
‘तपाईंहरुको यो अभ्यास सफलताका साथ अगाडि बढोस्। यस खेललाई अगाडि बढाउनुपर्छ, नेपाली समाजमा लोकप्रिय हुँदैछ भनेर नै मैले प्रधानमन्त्री भएकै दिन पहिलो क्याबिनेटबाटै तीन सय दिनभित्र फ्लडलाइट र प्याराफिटसहित सबै तयार गर्ने भन्या छु। हामी त्यो गर्छौँ। र अन्यत्र पनि रंगशालाहरुलाई ध्यान दिन्छौँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउनका लागि तीन सय दिनको समयसीमा तोकेको थियो।
साउन २०, २०८१ सोमबार १३:३६:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।