कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्ससँगको समन्वयमा स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

साउन १९ गते शनिबार कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा कल्याणकारी कोषले शिविर आयोजना गरेको हो।

विहान साढे नौ  बजेदेखि सुरु भएको स्वास्थ्य शिविरमा कृष्णनगर लगायत आसपासबाट आएका ४५० बिरामीले स्वास्थ्य जाँच गराएका छन्।

शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी, छाला तथा यौन रोग लगायतको रोगहरूको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिएको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए।

शिविरमा उपस्थित भई नाम लेखाएका र विभिन्न रोगको जाँच गराएका बिरामीहरूले भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले विशेष छुट तथा सहुलियतमा उपचार गर्ने ट्रष्टका अध्यक्ष गोयलको भनाइ छ।

यसअघि पनि ट्रष्टले निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शैक्षिक सामग्री वितरण, वृक्षरोपण लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको स्व. बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो।

साउन २०, २०८१ सोमबार १०:४९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।