मुख्यमन्त्री कँडेलले आज दोस्रो पटक विश्वासको मत लिँदै
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज दोस्रो पटक विश्वासको मत लिन लागेका छन्। जसका लागि दिउँसो तीन बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए। संघमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
४० सदस्यीय प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कँडेललाई कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सांसद छन्।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने वाइडबडी जहाज प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि निलम्बनमा परेका छन्।
एमाले र कांग्रेसको जोड्दा २४ सांसद पुग्ने भएकाले कँडेलले विश्वासको मत पाउने निश्चित देखिएको छ। कँडेल गत चैत २७ गते माओवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
केन्द्रमा कांग्रेस-एमालेको नयाँ सत्ता समिकरण भएपछि आइतबार कांग्रेसका चार जना मन्त्रीहरू कँडेल नेतृत्वको सरकारमा सहभागी भएका छन्।
वर्तमान सरकारमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।
आठ सदस्यीय मन्त्रिपरिषद्मा यसअघि मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कँडेल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह थिए।
त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेलले आफैसँग राखेर भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विकलाई नियुक्त गरेका थिए।
कँडेलले अहिलेसम्म तीन पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन्। वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिएका थिए।
साउन २१, २०८१ सोमबार १०:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।