श्रीलंकासामु भारत स्तब्ध, भान्डरसेको उत्कृष्ट बलिङ
काठमाडौं : लेग स्पिनर जेफरी भान्डरसेको उत्कृष्टमा तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ।
कोलम्बोको आर प्रेमादाशा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनाएको हो। यसअघि पहिलो वान डे टाइ भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। उसका लागि अविष्का फर्नान्डो र कामिन्दु मेन्डिसले समान ४०-४० रन बनाउँदा दुनिथ वेल्लालागे ३९, कुशल मेन्डिस ३०, चरिथ अशलंका २५ रन बनाएर आउट भए।
भारतका लागि वासिङ्टन सुन्दरले तीन, कुलदीप यादवले दुई तथा अक्षर पटेल र मोहम्मद सिराजले समान एक-एक विकेट लिए।
जवाफमा भारत ४२.२ ओभरमा २ सय ८ रन बनाएर अलआउट भयो। शानदार सुरुआत गरेको भारतले एक समय विना कुनै विकेटको क्षति ९७ रन बनाएको थियो। त्यसपछि १ सय ११ रन जोड्न उसले १० विकेट खर्च गर्यो।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रनको इनिङ खेले। त्यसबाहेक अक्षर पटेलले ४४ रन जोड्दा शुभमन गिलले ३५ रन बनाएका थिए।
श्रीलंकाका लागि भान्डरसेले ३३ रनमा छ विकेट लिए भने चरिथ अशलंकाले तीन विकेट हात पारे।
अब भारतले सिरिज जोगाउनका लागि पनि तेस्रो तथा अन्तिम वान डे जित्नैपर्नेछ।
साउन २०, २०८१ सोमबार ०७:२७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।