प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्न लागेको हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

साउन २०, २०८१ सोमबार ०७:११:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।