सरकारमा सहभागी भए पनि प्रतिपक्षको स्वरूपमा शेखर, आफ्नै पार्टीको सरकार पनि निरङ्कुश हुनसक्ने तर्क

सरकारमा सहभागी भए पनि प्रतिपक्षको स्वरूपमा शेखर, आफ्नै पार्टीको सरकार पनि निरङ्कुश हुनसक्ने तर्क

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले  आफ्नै पार्टी सहभागी भएको सरकार पनि  निरङ्कुश हुनसक्ने दाबी गरे। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी सङ्घको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने शङ्का पैदा भएको दाबी गरेका हुन्।

'अहिले कहिँकतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ। किनभने दुई वटा ठूला दल सरकारमा छन्। नेपाली कांग्रेस र एमाले ठूला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शङ्का छ। हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि सरकार ठिक बाटोमा हिँड्छ र हामी अगाडि बढ्न सक्छौ।'

एकातिर आफ्नै पार्टी बहुसङ्ख्यक मन्त्रालय लिएर सहभागी भएको सरकार निरङ्कुश हुनसक्ने बताएका उनले त्यही कार्यक्रममा दुई ठूला दल किन मिल्नुपर्यो भन्ने प्रस्टीकरण पनि दिए। उनले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको दाबी गरे। 

‘नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लाने, मजबुत कसरी बनाउने भन्ने चिन्ता छ। राजनीतिक स्थायित्व भएन भनेर सरकार बनाएको हो। यसले नीति पनि परिवर्तन हुन्छ र अप्ठेरा परिस्थिति पनि सिर्जना गर्छ। सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुन सक्ने लगायतका कारणले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ,’ उनले भने।

उनले अहिले पार्टी कमजोर भएको र नेताहरू कहिँकतै अल्झिएको जस्तो अनुभूति भएको समेत बताए। ०८४ को निर्वाचनमा कुनै दलको बैसाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको उनको तर्क थियो।

साउन १९, २०८१ आइतबार २०:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।