मणिले ढाकिएको भोटो दाबी गर्न यो वर्ष पनि कोही आएनन्
![मणिले ढाकिएको भोटो दाबी गर्न यो वर्ष पनि कोही आएनन्](https://ukeraa.prixacdn.net/media/albums/bhotojatra-2024-_2_p5H3Vstcg1.jpg )
काठमाडौँ : किसान र भूतबीच भोटो कसको भन्नेबारेको विवाद समाधान नभएपछि प्रमाणसहित जो आउँछ उसैलाई दिन हरेक वर्ष भोटोधनि खोज्न मच्छिन्द्रनाथले पाएको जिम्मेवारी अनुसार आइतबार पनि जावलाखेलमा भोटो देखाइयो।
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि काठमाडौँका मेयर बालेनसँगै भोटो हेर्न हजारौं सर्वसाधारण जावलाखेलमा उपस्थित पनि भए। हजार वर्षदेखि चलिआएको प्रचलन अनुसार एक व्यक्तिले भोटो निकालेर भिडतिर देखाउँदै ‘प्रमाण भए दाबी गर्न’ आव्हान गरे।
सबैले भोटो हेरे तर अन्य वर्ष जस्तै यो वर्ष पनि कसैले भोटो मेरो हो भनेर प्रमाणसहित दाबी गर्न आएनन्। अनि अब अर्को वर्ष फेरी भोटो धनी खोज्ने सर्तसहित भोटो पुन मच्छिन्द्रनाथलाई नै जिम्मा लगाइयो।
भोटो जात्रा सुरु भएको एकिन तिथिमिति सार्वजनिक भएको छैन। तर मच्छिन्द्रनाथको जात्रा सुरु भएको १३ वर्ष भएको मानिन्छ। पहिला जात्रा मात्र हुने गरेकोमा पछि भोटो देखाउने प्रचलन थपिएको मान्यता छ।
भोटोसँग भने किंवदन्ती जोडिएको छ। नागराज कर्कोटककी रानीको आँखा दुखेपछि वैद्य खोज्दा खेतमा काम गरिरहेका किसानलाई नागलोक मानिने टौदह लगेपछि डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर दिएको मयलले औषधीको काम गरेपछि उनले पुरस्कार स्वरूप मणि जडान भएको भोटो पाएको मानिन्छ।
उनले त्यही भोटो खेतको डिलमा राखेर काम गर्ने क्रममा मानिसको रूपमा आएको भूतले भोटो चोरेर लगे। मच्छिन्द्रनाथको जात्रामा आफ्नो भोटो भूतले लगाएको देखेपछि दुवैबीच विवाद भएपछि प्रमाणको अभावमा भोटो मच्छिन्द्रनाथलाई जिम्मा लगाइएको मानिन्छ।
रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि प्रमाणसहित आउनेलाई भोटो दिन भन्दै रथबाट सबैले देख्ने गरी भोटो देखाउँदा यसले जात्राको परम्परा बसेको मानिन्छ।
अहिले हरेक वर्ष गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा प्रमाणसहित आउन भोटो देखाउँछन्। कसैले दाबी नगरेपछि मच्छिन्द्रनाथको जिम्मा लगाउँछन्।
हरेक वर्ष यसै गरी यो परम्परा चल्दै आएको छ। यो वर्ष पनि त्यस्तै भयो। भोटो देखाइयो तर कसैले दाबी गर्न आएनन्।
साउन २०, २०८१ आइतबार १९:५५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।