'मोदीबेनी': अनौठो परम्पराको कथा, तर फितलो प्रस्तुति

'मोदीबेनी': अनौठो परम्पराको कथा, तर फितलो प्रस्तुति

निर्देशक शङ्कर कोइरालाको निर्देशनमा बनेको फिल्म 'मोदीबेनी' ले पर्वतमा प्रचलित मृत्यु पछिको एक संस्कारलाई मूल कथा बनाएर कथा बुनेको छ, तर कमजोर पटकथा र फितलो अभिनयले दर्शकलाई निराश पार्छ।

नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोगहरू भइरहेका छन्, तर के सबै प्रयोग सफल हुन सक्दैन। निर्देशक शङ्कर कोइरालाको निर्देशनमा बनेको फिल्म  'मोदीबेनी' एक यस्तै असफल प्रयोग हो जसले दर्शकको समय र पैसा दुवै खेर फाल्छ।

'मोदीबेनी' को कथा पर्वत जिल्लामा रहेको एक मृत्युपछिको परम्परामा आधारित छ। मृत्युपछि शवलाई मोदीबेनी खोलामा लगेर ढुङ्गाले किचेर दाहसंस्कार गर्ने प्रचलनमा आधारित फिल्म हो यो। अनौठो विषयवस्तु हुँदाहुँदै पनि फिल्मले प्रभावकारी रूपमा प्रस्तुत गर्न भने सकेको छैन।

जिम्मल तीर्थराज (सरोज खनाल) का छोरा र एक रहस्यमयी युवती (रेजिना उप्रेती) को अस्वाभाविक सम्बन्धका आधारमा फिल्म अगाडि बढेको छ। पूर्णिमा (वर्षा सिवाकोटी) र लाहुरे अमर (अमर प्रताप श्रेष्ठ) को अविश्वसनीय प्रेम कथा समेटिएको छ फिल्ममा। फिल्मले अस्पष्ट स्थानीय राजनीति र सतही सामाजिक द्वन्द्व समेटेको छ जसले दर्शक आकर्षित हुन सकेको देखिँदैन।

फिल्मले पर्वतको अनौठो दाहसंस्कारलाई मूल कथा बनाएको छ। यो पक्ष सकारात्मक नै देखिन्छ। तर दुर्भाग्यवश, यसको प्रस्तुति भने निराशाजनक छ। मृत्यु भइसकेको मानिसले पनि दुख दिन्छ भन्ने रूढिवादी विचारमा निर्देशकले फिल्म बनाए पनि दर्शकले पत्याउने तहको निर्माण भने गर्न सकेनन्। ब्याकग्राउड म्युजिकका कारण केही दृश्यमा दर्शक तर्सिन सक्छन्। फिल्मको सकारात्मक पक्ष यही हो।

जिम्मलको भूमिकामा रहेका अभिनेता सरोज खनालको अभिनय बलियो देखिन्छ। तर एक कलाकारको बलियो अभिनयले मात्र फिल्मलाई डुब्नबाट जोगाउन सक्दैन। सरोजको बलियो अभिनयले मात्र फिल्म जोगिन सकेको पनि छैन।

नौ वर्षपछि अभिनयमा कम ब्याक गरेकी रेजिनाको प्रयास प्रभावकारी हुन सकेको छैन। दिलीप केसी र रेजिना उप्रेतीको अभिनयले उनीहरू स्क्रिप्टै नपरी अभिनय गरिरहेझैँ देखिन्छ। फिल्ममा रेजिना र जिम्मलको छोरा बनेका दिलीपको दृश्यहरू अनावश्यक रूपमा बढाउँदा फिल्म नै झ्याउँलाग्दो बनेको छ।

फिल्ममा चंखेको भूमिका निवार गरेका सरोज अर्यालको कमेडीले केही हदसम्म दर्शकको हाँसो फुत्काउन सक्छ। वर्षाको अभिनय पहिला जस्तो छ यसमा पनि उस्तै, चरित्र चित्रण अनुसारको अभिनयमा ढल्न सकेकी छैनन् उनी।

यही फिल्मबाट अभिनेताका रूपमा डेब्यु गरेका अमरको अभिनय मध्यम छ। फिल्म ‘मनसरा’मा मुख्य भूमिका निर्वाह गरेका प्रवीण खतिवडा र जीवन भट्टराईको संवाद शैली अलिक लाउड सुनिन्छ। उनीहरू दुवैको अभिनय नाटक शैलीको देखिन्छ।

फिल्मको सबैभन्दा ठुलो समस्या यसको पटकथा र संवादमा देखिन्छ। कथालाई यति धेरै घुमाइएको छ कि दर्शक बिचमै अलमलिन्छन् र फिल्म उनीहरूमा उत्सुकता नै हराएर जान्छ।

फिल्मका धेरै दृश्यहरू अस्वाभाविक देखिन्छन्। जस्तै जिम्मलका छोराले रेजिनालाई गोठमा लुकाएको दृश्य। यो दृश्य छायाङ्कनदेखि सम्पादनसम्म पुगेर पर्दामा पुग्दा अत्यन्तै अविश्वसनीय र हास्यास्पद देखिएको छ।

फिल्ममा भाषाको समस्या उस्तै देखिन्छ। निर्देशकले पर्वतेली भाषाको प्रयोग गर्ने प्रयास गरेका छन् तर बिना अभ्यास। अभ्यासै नगराई कलाकारहरूलाई पर्वतेली भाषाशैली बोलाउँदा संवादहरू निकै बनावटी बन्न पुगेका छन्।

कथाको विकासक्रम नै अस्पष्ट छ यो फिल्मको। जस्तै अमरको बुवाको बदनामीको कारण त्यतिकै छाडिएको छ। फिल्म हेर्दा निर्देशकलाई पनि त्यसको कारण थाहा छैन जस्तो देखिन्छ।

फिल्मको प्राविधिक पक्षमा उत्सव दाहालको छायाङ्कन निराशाजनक छ। पर्वतको सुन्दर प्राकृतिक दृश्यहरूलाई समेत उनले फिल्ममा राम्रोसँग कैद गर्न सकेको देखिएन। फिल्मको सङ्गीत र पृष्ठभूमि ध्वनि प्रभावहीन छ।

'मोदीबेनी' एक महत्त्वाकाङ्क्षी प्रयास भने हो। तर, कमजोर पटकथा, फितलो अभिनय र निराशाजनक निर्देशनका कारण फिल्म बलियो हुन सकेको देखिँदैन। 

साउन २०, २०८१ आइतबार १९:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।