संयोग पनि कस्तो ! नाबालिग बलात्कार विरोधी फिल्म ‘देवी’सँग जुध्दै पल शाहको ‘रावायण’

संयोग पनि कस्तो ! नाबालिग बलात्कार विरोधी फिल्म ‘देवी’सँग जुध्दै पल शाहको ‘रावायण’
बालिकाको फोटो फिल्मको हो।

काठमाडौँ : निर्माण नसकिँदै विविध लफडामा परेको फिल्म ‘रावायण’ टिम भदौ २१ को रिलिज मिति घोषणा गरेर प्रचारमा होमिएको छ। पुष्पा-२ को फ्लेवर आउने टिजर समेत सार्वजनिक गरिसक्यो टिमले। म यस्तो गीत गाउँछु-२ मा सँगै अभिनय गरेका पूजा शर्मा र पल शाह फिल्मको प्रिमियरमा सँगै हुन सकेनन्। नाबालिग बलात्कार आरोपमा जाहेरी दर्ता भएपछि पल भागेका थिए।

कारागारमा बसेर उच्च अदालतबाट सफाइ पाएपछि उनी रावायणमा अनुबन्ध भएको अवस्थामा सर्वोच्च अदालतले उच्चबाट सफाइ दिने सम्बन्धी भएको फैसला हेर्ने बाटो खुलाएको छ। यो फिल्म रिलिज हुने बेलासम्म सर्वोच्चबाट पलले झड्का पाउन पनि सक्छन्।

नाबालिग बलात्कारमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका पल अभिनीत फिल्म जुन दिन रिलिज हुँदैछ त्यही दिन बलात्कार विरोधी फिल्म ‘देवी’ पनि रिलिज हुँदैछ।

नाबालिका बलात्कार आरोपमा जेल बसेर अनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका पल अभिनीत ‘रावायण’र बलात्कार विरोधी कथामा आधारित फिल्म एकसाथ प्रदर्शनमा आउनु गजवकै संयोग हो।

क्राइम–थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘देवी’ संजोग राईले निर्देशन गरेका छन्। आइतबार यसको १ मिनेट ३० सेकेन्ड लामो टिजर पनि सार्वजनिक भइसक्यो। टिजरका आधारमा फिल्म ‘देवी’ बलात्कारका घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पस्किने प्रस्टै देखिन्छ। टिजरमा एउटा संवाद छ’साला कस्ता कुकुरहरू छन् है हाम्रो समाजमा जसले स-साना नाबालिगहरूलाई पनि छाड्दैन।‘

टिजरमा कञ्चनपुरमा बलात्कारपछि मारिएकी किशोरी निर्मला घटनाको समाचारको अंश बजाइएकाले पनि यो फिल्म नाबालिग बलात्कारको घटनामा आधारित रहेको देखिन्छ।

फिल्मको कथा लेखनमा निर्देशक राईले अजय गौतमसँग सहकार्य गरेका छन्। बाँसुरी फिल्म्सले देशव्यापी रिलिज गर्ने यो फिल्मको लाइनअप रावायणको भन्दा कमजोर हैन बरु थप शक्तिशाली देखियो। यसमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जङ्ग खड्का लगायतको अभिनय छ। फिल्ममा गौरवले प्रहरीको भूमिका निभाएका छन्।

यस अगाडि पलको पुजार सार्की फिल्म रिलिज भएको थियो। फिल्ममा उनी एक्ला अभिनेता थिएनन्। प्रदीप खड्का र आर्यन सिग्देल पनि थिए। तर फिल्मको प्रचार अनि व्यापारमा फिल्मलाई पलको नाबालिग बलात्कार घटनाले नकारात्मक प्रभाव पारेको थियो। रावायणमा त मुख्य भूमिकामै उनै देखिएका छन्। अनि पछिल्लो समय रोएर फिल्म चलाउने पूजाको सूत्र पनि फ्लप भइरहेको बेलामा बलात्कार विरोधी फिल्मसँग जुध्नु जोखिमपूर्ण हुने नै भयो।

साउन २०, २०८१ आइतबार १८:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।