रारा विमानस्थलमा ३ दिनदेखि उडान ठप्प

रारा विमानस्थलमा ३ दिनदेखि उडान ठप्प

मुगु : मौसम खराबीका कारण तीन दिनदेखि रारा विमानस्थलमा उडान हुन सकेको छैन। बर्षाद्को समयमा मौसममा खराबी आइरहँदा रारा ताल्चा विमानस्थलमा तीन दिनदेखि उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।

गएको शुक्रबार नेपालगन्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडेपनि जुम्लाको सिन्जा क्षेत्रमा पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो।

आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो उडान हुम्ला, दोस्रो जुम्ला गरेपनि तेस्रो उडान राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि रारा विमानस्थलको उडान स्थगित गर्न वाध्य भएको थियो। 

उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज, सुर्खेत ,काठमाडौं जाने यात्रुहरू अलपत्र परेका छन्। 

मुख्यगरी वर्षे विदामा घर गएका शिक्षकहरू, बिरामी, प्रदेश कार्यालय, समीक्षा गोष्ठीमा गएका कर्मचारीहरू प्रभावित छन्। 

साउन १९, २०८१ आइतबार १६:४३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।