पार्टीभित्रको गुट सतहमा देखिन थालेपछि ओलीले भने 'अब गुटबन्दी स्वीकार्य छैन'

पार्टीभित्रको गुट सतहमा देखिन थालेपछि ओलीले भने 'अब गुटबन्दी स्वीकार्य छैन'

काठमाडौं : प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका छन्। 

एमालेका अध्यक्ष्यसमेत रहेका ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र झुक्याउने खेलमा पनि नलाग्ने बताए। 

उनले भने, ‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो। लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफबाहको भरमा या कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि स्टन्टबाजीको रूपमा विचार पनि प्रस्तुत पनि गर्दैन। कुनै अन्योल र भ्रम पनि चाल्दैन। स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन।’

अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अब पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने बताए।  

उनले भने, ‘पार्टीमा लामो समयदेखि गुटबन्दी थियो। गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो सकिएन, अब गुटबन्दी स्वीकार्य छैन।’

यसअघि कांग्रेस-एमाले सरकार बनेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेबाट माधव नेपालसँग छुट्टिएर गएका पछि फेरि एमालेमै समाहित भएका योगेश भट्टराई, रघुजी पन्त लगायतका १० भाइ समूह गुट सतहमै देखिएको थियो। ती समूहले सरकारमा मन्त्री बनाउँदा आफूहरूलाई पनि भाग मागेका थिए। 

अर्कोतर्फ पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लाग्दैगर्दा पनि एमालेभित्र गुट बनिरहेको देखिन्छ। त्यसैबाट सशंकित रहेका ओली पार्टीभित्र गुट असह्य हुने भन्दै बेलाबखत बचाउ गरिरहन्छन्। 

साउन १९, २०८१ आइतबार १५:५९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।