सुदूरपश्चिम : आफ्नै भतिजलाई 'ब्याक' गराएर शाहलाई मुख्यमन्त्रीको आशीर्वाद दिए देउवाले!

सुदूरपश्चिम : आफ्नै भतिजलाई 'ब्याक' गराएर शाहलाई मुख्यमन्त्रीको आशीर्वाद दिए देउवाले!

काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्यो। शाहले एमालेको समर्थनमा आजै प्रदेश प्रमुख नजिर मियाँकहाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन्। 

यसअघि कांग्रेसमा सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आकांक्षीको लिस्टमा ४ जनाको नाम थियो। नेता शाहसहित प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए।

तर, आज बिहान संसदीय दलको बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले दलका नेता शाहलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि अन्य तीन जना पछि सरेका हुन्। 

आकांक्षी मध्येका प्रकाश देउवा सभापति देउवाका भतिजसमेत हुन्। 

तर, यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएकोले बाँकी काम पूरा गर्नका लागि आफूले फेरि सरकारको नेतृत्व गर्न सभापति देउवासमक्ष रुची देखाएपछि उनकै नेतृत्वमा सरकार गठन गर्न देउवा सहमत भएका हुन्। शाह यसअघि १४ महिना मुख्यमन्त्री भएका थिए।

अर्कोतर्फ शाह संसदीय दलको नेता भएकाले उनीबाहेकलाई मुख्यमन्त्रीमा अघि सार्दा संसदीय दलको नेता चयन गर्नुपर्थ्यो। 

संविधानको धारा १६८ को २ अनुसार सरकार गठन गर्न संसदीय दल नेता आवश्यक पर्दैन तर, पार्टीभित्रको विधि मिचिने भएकाले पनि सभापति देउवा शाहलाई मुख्यमन्त्री बनाउन तयार भए।

साउन २०, २०८१ आइतबार १४:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।