संखुवासभामा विद्युत काटेपछि प्राधिकरणका २ जना कर्मचारी कुटिए, डरले अन्य कर्मचारी सदरमुकाम सरे

संखुवासभामा विद्युत काटेपछि प्राधिकरणका २ जना कर्मचारी कुटिए, डरले अन्य कर्मचारी सदरमुकाम सरे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण मादी, संखुवासभाका इञ्चार्जसहित दुईजना कर्मचारी कुटिइएका छन्। 

शाखा कार्यालय माडीका इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि कुटपिट भएको हो। 

विद्युत् महसुल नतिरेपछि लाइन काटेको भन्दै स्थानीयले उनीहरूलाई कुटपिट गरेको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए। 

उनका अनुसार विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट गरेको र काटिएको लाइन जोड्न धम्कीसमेत दिएका थिए। 

स्थानीय लिङ्थेपको क्रशर उद्योगले ६ लाख ४० रूपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको उनको जिकिर छ। 

कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी कार्यालय बन्द गरेर सदरमुकाम गएका छन्। 

यता, कुटपिट गरेको आरोपमा मादी नगरपालिका-४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका चैनपुरका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए।

साउन १८, २०८१ शनिबार २१:४७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।