काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं : काभा वुमन्स नेशनल लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो।

नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो। पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो। 

भारतसँगको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिँदै शानदार सुरुवात गरेपनि भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो।

नेपालले अग्रतालाई निरन्तरता दिँदै २२–१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो। नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो।

दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो। तर, त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्यो।  खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो।

तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो। तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो।

चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो। भारत निरन्तर चौथो सेटमा अघि थियो। भारत मध्य समयमा १५–१० ले अघि थियो।

नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा दुई अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो।

निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो। उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिँदै ऐतिहासिक जितको संकेत दिएको थियो। नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो।

नेपाल १२–१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो। टाइम आउटलगत्तै अंक जोडेको थियो। १२–१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो। 

तर, भारतले पुन अंक जोड्दा खेल १३–१४ को अवस्थामा पुगेको थियो। नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो। उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो। 

साउन १९, २०८१ शनिबार १८:४७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।