काठमाडौंका पूर्वमेयर शाक्यको बालेनलाई चेतावनी : नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौंका पूर्वमेयर शाक्यको बालेनलाई चेतावनी : नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र साह (बालेन)लाई नगरप्रहरीको आडमा गुण्डागर्दी गरेको आरोप लगाएका छन्। 

 उनले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने चेतावनी दिए ।

शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको लगाए।

'महानगर प्रहरीलाई न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ। जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोकेर प्रतिरोधमा उत्रिएको देखिएको छ। नगरप्रहरीको बलमा यस्तो गुण्डागर्दी सह्य हुनेछैन,' उनले भने। 

उनले धरहरा भत्काइदिने भन्ने बालेनको आपत्तिजनक अभिव्यक्ति सह्य नहुने बताए। 

'धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन्। कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरू बेलामा सुविधा सबै लिने,' उनले भने, 'गाली गरेर जस सबै आफूले लिने, अपजस सबै अरूलाई दिने गर्छन्।' 

उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको पनि आरोप लगाए। 

महानगर भत्काउने काममा मात्रै लागेको भन्दै शाक्यले महानगरवासी भत्काएको भन्दा बनाएको भन्ने कुरा सुन्न आतुर रहेको बताए। 

साउन १८, २०८१ शनिबार १६:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।