ट्रम्प अमेरिकाको राष्ट्रपति बनुन् भन्ने चाहेका छन् किमले!

ट्रम्प अमेरिकाको राष्ट्रपति बनुन् भन्ने चाहेका छन् किमले!

एजेन्सी : उत्तर कोरियाका नेता किम जोङ उनले डोनाल्ड ट्रम्पलाई अमेरिकाको नयाँ राष्ट्रपति बनाउन चाहेको खुलासा भएको छ।  

उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारी रि इल क्यूले बीबीसीसँग कुराकानी गर्दै यस्तो खुलासा गरे। 

रि सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन्। रि सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका छन्। दक्षिण कोरिया भाग्नुअघि उनी क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए।

रिले किमले आफ्नो अस्तित्वका लागि जे पनि गर्न सक्छ भन्नेमा कुनै शङ्का नरहेको बताए। 

आवश्यक परेमा किमले उत्तर कोरियाका २ करोड ५० लाख मानिसलाई मार्न सक्ने रिले दाबी गरे।

ट्रम्प र किमबिच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा ट्रम्पसँग वार्ता गर्न सकिन्छ भन्ने महसुस गरेको रिले बताए। ट्रम्पले यसअघि नै किमसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपति कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरिसकेका छन्।

गत महिना एक र्यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए। 

ट्रम्पले भनेका थिए, 'मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।'

उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको रिले बताए।

तर, गत महिना उत्तर कोरियाले औपचारिक रूपमा अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो।

साउन १८, २०८१ शनिबार १५:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।