सत्ताधारी उपेन्द्र यादवले नै सरकारले गरेको राजदूत नियुक्ति असमावेशी भएको भन्दै आलोचना गरेपछि...

सत्ताधारी उपेन्द्र यादवले नै सरकारले गरेको राजदूत नियुक्ति असमावेशी भएको भन्दै आलोचना गरेपछि...

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस असमावेशी भएको भन्दै असन्तुष्टि जनाएका छन्। 

कांग्रेस-एमाले सत्ता गठबन्धनमै रहेका यादवले १८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारू, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको भन्दै असन्तुष्टि जनाए। 

उनले सामाजिक संजालमार्फत संवैधानिक परिषदबाट हुने सिफारिस नै समावेशी नहुनुले राज्यको चरित्र माथि नै प्रश्न उठेको भनेका छन्। 

'संवैधानिक परिषदबाट हुने नियुक्ति सिफारिस समावेशी भएन, १८ जना राजदूतमा देखिएको अनुहार एउटा उदाहरण मात्रै हो। न्यायाधीश नियुक्ति समावेशी हुन्न, संवैधानिक निकायहरूको नियुक्तिमा समावेशिता ख्याल गरिन्न। मन्त्रिपरिषद् आफैँमा समावेशी छैन। राज्यको चरित्र यस्तो छ कि त्यसले केवल खसआर्य एकल समुदायको प्रभुत्वलाई नै अगाडि बढाएको देखिन्छ', उनले लेखेका छन्। 

राजदूतमा खसआर्य समुदायको मात्र बाहुल्यता रहेको र महिला पनि चार जना मात्र रहेकोप्रति उनको आपत्ति छ। 

'शासकहरूको जातिवादी, श्वेतनीति वा नस्लवादी विचारले आज समावेशी लोकतन्त्र नै धरापमा पारेका छन्', उनले लेखेका छन्।  

साउन १८, २०८१ शनिबार १५:०६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।