डा. सतीशको उपचार अनुभव : पाठेघर बाहिर गर्भ बसेर स्वास्थ्य अवस्था जटिल भएकी युवतीलाई बचाउँदा...

डा. सतीशको उपचार अनुभव : पाठेघर बाहिर गर्भ बसेर स्वास्थ्य अवस्था जटिल भएकी युवतीलाई बचाउँदा...

डा. सतीश निरौला मेडिकल जनरलिष्ट (एमडीजिपी) चिकित्सक हुन्। एमडीजिपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। उनै डा. सतीशले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेको अनुभव उकेरासँग साटेका छन्।

पाठेघर बाहिर गर्भ बसेकी महिलालाई बचाउँदा
सुनसरीको इटहरीस्थित एपेक्स अस्पतालमा काम गर्दाको एउटा घटना डा. सतीश कहिल्यै भुल्दैनन्। घटना करिब पाँच वर्षअघिको हो। करिब २१ वर्षकी गर्भवती युवती पेट दुखेपछि अस्पताल पुगिन्।

ती युवती गर्भवती भएको करिब दुई महिना भएको थियो। ती युवती हेर्दा पढेलेखेकै देखिन्थिइन्। डा. सतीश एमडीजिपी चिकित्सक भएको नाताले उनले ती युवतीको भिडियो एक्स-रे लगायतको स्वास्थ्य परीक्षण गरे।

स्वास्थ्य परीक्षण गरेर हेर्दा त ती युवतीको भ्रुण पाठेघरमा नबसी पाठेघरभन्दा बाहिरको (अन्डाशयको नली)मा बसेको थाहा भयो।

युवतीको भ्रुण बसेको पाठेघर भन्दा बाहिरको त्यो नली फुटिसकेको थियो। तुरुन्तै शल्यक्रिया गरी पाठेघर भन्दा बाहिरको नलीमा बसेको भ्रुण निकालेर नफाल्ने हो भने युवतीको तुरुन्तै ज्यानै जाने जोखिम थियो।

त्यसैले डा. सतीशको टिमले ती युवतीलाई तुरुन्तै नजिकै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएर उपचार गर्न सल्लाह दियो।

तर, हेर्दा पढेलेखेकै देखिने ती युवतीले भने ‘म त काठमाडौंमा जाँच गर्ने गरेको मान्छे, यता कतै अस्पताल जाँदिन। भोली नै काठमाडौं जान्छु’ भनिन्। ती गर्भवती यवतीले ढुक्कले काठमाडौं नै गएर मात्रै जाँच तथा उपचार गर्ने बताइरहँदा डा. सतीशको मन भने भारी भएको थियो। तुरुन्तै उपचार नगरी ढिलो गरेको खण्डमा युवतीको ज्यानै जाने जोखिम थियो।

त्यसैले डा. सतीशले ती युवतीलाई उनको अवस्थाबारे धेरै बेरेसम्म सम्झाए। तर, ती युवतीले काठमाडौं नै गएर उपचार गर्ने भन्दै ढिट कसिन्। जति सम्झाउँदा पनि ती युवतिले तत्कालै उपचार गर्न नमान्दा डा. सतीशको मुटुमा ढ्याङ्ग्रो बज्न थालिसकेको थियो।

तर, ती युवतीलाई छुट्टै राखेर अझै लामो समय काउन्सेलिङ गरेपछि मात्र उनी धरानमै उपचार गराउन तयार भइन्। त्यसपछि ती गर्भवती युवतीको उपचारका लागि डा. सतीशले नै पहल गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूसँग समन्वय गरेका थिए।

त्यो बेला ती युवतीको स्वास्थ्य अवस्था हेर्दा धरानमा पुर्याउन समेत जोखिम भइसकेको थियो। त्यसैले डा. सतीश आफैँ ती युवतीलाई लिएर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानमा पुगे। उनले ती युवतीको उपचारको लागि धरानको चिकित्सकको टिमलाई जिम्मा लगाए। त्यसपछि उनी फर्किए। धरानमा ती युवतीको पाठेघरभन्दा बाहिर रहेको भ्रुण शल्यक्रिया गरी औजारले निकालियो।

ती युवती एक महिनापछि फलोअपमा डा. सतीशकहाँ इटहरी पुगेकी थिइन्। फलोअपमा ती युवतीले डा. सतीशप्रति कृतज्ञ हुँदै माफी समेत मागेर धन्यवाद दिइन्। ती युवतीको ज्यान बचाउन सकेकोप्रति अझै उनलाई आनन्द लाग्छ।

हृदयघात भएर अन्तिम श्वास लिन लागेका ती पुरुष
प्रसङ्ग करिब सात वर्षअघि एमडीजीपी अध्ययनपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जीपी तथा आकस्मिक कक्षमा काम गर्दाको हो।

त्यो बेला करिब ५६ वर्षका पुरुषलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइयो। ती पुरुषलाई करिब आधाघण्टा अघिदेखि ठूलो हृदयघात भएको रहेछ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा ती  पुरुष हृदयघातको पीडाले छटपटाइरहेका थिए।

त्यतिबेला डा. सतिश धरानस्थित प्रतिष्ठानमा काम गर्थे। अस्पतालमा पुर्याउनासाथ डा. सतीशको टिमले कति पनि ढिला नगरी ती पुरुषको उपचार थाल्यो। तर, हेर्दाहेर्दै ती पुरुषको प्राण नै जालाजस्तो गरी श्वास घिटीघिटी गर्न थाल्यो।

त्यसैले हतार-हतार छातीमा सीपीआर गरेर चिकित्सकको टिमले ती पुरुषको श्वास बचाउने कोसिस गर्यो। ती पुरुषको श्वास फर्काउनका लागि एक जनाले छाती थिच्ने अनि अर्कोले मुखबाट पाइप हालेर फोक्सो फुलाउने जस्ता काम गरे। स्लाइन पानी सहित आवश्यक औषधि उपचार गरियो।

भएभरको उपचार प्रयास गर्दा पनि आकस्मिक कक्षमा मात्रै राखेर ती पुरुषको ज्यान बचाउन सम्भव हुने देखिएन। त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले ती मृत्युको मुखमा पुगेका पुरुषलाई सीपीआर लगायतको उपचार गर्दै हतार-हतार आईसीयूमा पुर्यायो।

आईसीयूमा ती पुरुषको एनजीओग्राफी गरियो। केहीबेरको चिकित्सकको टिमको अथक उपचारपछि मृत्युको मुखमा पुगेका ती पुरुष श्वास फेर्न थाले। ठूलो (म्यासिभ) हृदयघत भएका ती पुरुषको ज्यान बाँच्यो। हृदयघात भएर मृत्युको मुखमा पुगिसकेका ती पुरुषलाई चिकित्सकको टिमले उपचारमा केही मिनेट मात्र ढिला गरेका भए मृत्यु करिब निश्चित थियो।

तर, चिकित्सकको टिमले ती पुरुषलाई एक सेकेण्ड पनि ढिला नगरी प्रत्येक चरणको उपचारमा सक्रिय भई उपचार गरेकैले ती पुरुषको ज्यान बाँच्यो। ती पुरुष बाँचेर चिकित्सकको टिमप्रति कृतज्ञ हुँदै घर फर्के।

डाक्टर पढ्न तीन वर्ष कुर्दा तनाव
सतीशको पुख्र्यौली घर ओखलढुङ्गा भए पनि बुवा काठमाडौं बसेकाले उनी यतै जन्मिएर हुर्के, बढे अनि पढे। ललितपुरको सातदोबाटोका स्थायी निवासी सतीशले ललितपुरकै ग्वार्कोस्थित बाल दीक्षा सदन हाइस्कुलबाट २०५४ मा एसएलसी गरे। एसएलसीपछि काठमाडौंको भीएस निकेतनबाट उनले प्लस टु गरे।

उनका बुवाआमा दुवै शिक्षक भएकाले घरमा पढ्ने वातावरण हुने नै भयो। बुवाआमाको परिश्रम देखेर सतीश पनि खुब मिहिनेत गरेर पढ्थे। सतीशलाई डाक्टर बन्ने बडो रहर थियो। त्यसैले एउटै वर्ष प्लस टु उत्तीर्ण गरेका उनी र उनकी बहिनीले डाक्टर पढ्ने तयारी गरे। दाजुबहिनीले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए।

तर, बहिनीले छनोट परीक्षा दिएको पहिलो पटक नै एमबीबीए पढ्न पाइन् भने सतीशले पाएनन्। उनकी बहिनी छनोट भएर सरकारी छात्रवृत्ति कोटामा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीए पढ्न थालिन्। बहिनीसँगै एउटै वर्षमा एसएलसी र प्लस टु गरेका सतीश भने एमबीबीएस पढ्नको लागि प्लस टु पछि तीन वर्ष कुर्नुपर्यो।

प्लस टुपछि एमबीबीएसको तयारी गर्दै उनी त्रिचन्द कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना समेत भए। एमबीबीएस अध्ययन गर्ने सपना बोकेर एमबीबीए अध्ययनका लागि छनोट परीक्षाको तयारी गरिरहँदा भविष्यको अन्यौलताले उनी तनावमा समेत परे। तर, उनले एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिन र त्यसको तयारी गर्न हार भने खाएनन्।

प्लस टु गरेको तीन वर्षमा बल्ल सतीश एमबीबीएस अध्ययनका लागि छनोट भए। सतीश त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमबीबीएस अध्ययनका लागि सन् २००३ मा भर्ना भएर पढ्न थाले।

तीन वर्षको मेहनतपछि एमबीबीएस भर्ना हुन पाउँदा उनलाई एक तहको आनन्द भयो। सन् २००९ मा सतीशको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएस अध्ययनपछि डा. सतीशलाई पनि अमेरिका जाने रहर लाग्यो। त्यसैले युएसएमएलईको परीक्षापछि छनोट भएर उनी पनि अमेरिका पुगे। त्यहाँ पुगेर एक वर्ष बसे। तर, त्यहाँ एक वर्ष बसेपछि ‘म्याचिङ प्रोसेस’मा समस्या भयो। त्यसैले उनी नेपाल फर्कनुपर्यो।

नेपाल फर्किएपछि उनको बिहेवारी भयो। अमेरिकाबाट फर्किएपछि उनले विभिन्न निजी अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब दुई वर्ष काम गरे। केही समय काठमाडौंपछि दाङ र सुनसरीको इटहरीमा गएर निजी अस्पतालमा काम गरे। काम गर्न दाङ पुगेपछि भने सबै रोगको उपचार गर्ने किसिमको चिकित्सकीय विषयको अध्ययन गर्नुपर्ने रहेछ भन्ने उनलाई महसुस भयो।

छनोटमा सबै रोगको उपचार गर्ने विषय
डा. सतीशलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसमाथि पनि उनलाई समग्र रोगको उपचार गर्ने विषयको अध्ययन गर्ने इच्छा जागिसकेको थियो।

त्यसैले डा. सतीशले चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि विभिन्न ठाउँमा छनोट परीक्षा दिए। सन् २०१३ मा उनले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको मेडिकल जनरलिष्ट (एमडीजिपी) विषय अध्ययन गर्न थाले अनि सन् २०१६ मा सके पनि।

हुन त सानैदेखि डा. सतीशलाई नेपालका गाउँ गाउँमा गएर काम गर्ने इच्छा थियो। त्यसैले देशको कुना-कुनामा गएर बिरामीको उपचार गर्ने विषयको खोजीकै कारण आफूले एमडीजिपी अध्ययन गरेको उनले सुनाए।

एमडीजिपी सबै किसिमको रोगको उपचार गर्ने चिकित्सकीय विषय हो। यो विषय अध्ययन गरेका विशेषज्ञ चिकित्सकले सुरूमा सबै किसिमका स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य जाँच गर्नुकासाथै औषधि उपचार गर्नुपर्ने हुन्छ।

त्यसपछि थप विशेषज्ञता आवश्यक परेको खण्डमा आवश्यकता अनुसारको विशेषज्ञ चिकित्सककहाँ बिरामी रिफर गर्नु एमडीजिपी अध्ययन गरेका चिकित्सकको दैनिकी हो।

एमडीजिपी अध्ययन गरेका चिकित्सकले सबै किसिमको रोगको उपचार गर्ने भएकाले सुरु सुरुमा डा. सतीश आफूलाई कस्तो चिकित्सक भनेर चिनाउने होला भन्ने समेत सोच्थे। तर, उनलाई बिस्तारै बानी पर्दै गयो। नेपालमा एमडीजीपी चिकित्सकको संख्या अझै धेरै भए उपचार सेवामा सहजता हुने डा. सतीशको अनुभव छ।

बिरामीको उपचार र अध्यापनमा केन्द्रीत
एमडीजीपी अध्ययनपछि उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै करिब ६ महिना विशेषज्ञ चिकित्सकका रुपमा जीपी तथा आकस्मिक कक्षमा करार जागिरे भएर काम गरे।

त्यसपछि उनी खोटाङको दिक्तेलस्थित नयाँ खोलिएको ‘खोटाङ हलेसी सामुदायिक’ अस्पतालमा काम गर्न पुगे। उनले त्यहाँ करिब आठ महिना काम गरे।

उनकी श्रीमती नर्स हुन्। त्यो बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको नर्सिङ (मास्टर्स इन पेडियाटिक नर्सिङ) विषय अध्ययन गर्न थालिन्। त्यसैले परिवारसँगै बस्नका लागि उनी खोटाङको राम्रो जागिर र स्थानीय तथा बिरामीको न्यानो माया सहितको जागिर छाडेर इटहरी झरे।

त्यसपछि डा. सतीश इटहरीको एपेक्स अस्पतालमा काम गर्न थाले। इटहरीमा उनले सन् २०१९ सम्म करिब तीन वर्ष काम गरे। अध्ययनपछि उनकी श्रीमती वीरगञ्ज नर्सिङ क्याम्पसमा शिक्षण सहायक पदमा जागिरे भइन्। त्यसैले श्रीमती र बालबच्चा सहित उनी पनि इटहरीबाट वीरगञ्जमा पुगे।

डा. सतीशले पनि जनकुरको वीरगञ्जकै नेशनल मेडिकल कलेजमा सहायक प्राध्यापक (एसिस्टेण्ट प्रोफेसर)का रूपमा जागिरे भएर काम गर्न थाले। हाल उनी त्यहीँ कार्यरत छन्। विशेषगरी चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु, बिरामीको औषधि उपचार गर्नु अनि अध्ययन तथा अनुसन्धान गर्नु डा. सतीशको दैनिकी हो।

एमडीजिपी अध्ययनपछि डा. सतीशले इको, अल्ट्रासाउण्ड र इन्डोस्कोपी लगायतका तालिम लिनुका साथै थप चिकित्सकीय ज्ञान तथा सीप सिकेका छन्।

अध्ययन तथा अनुसन्धानमा समेत उनी व्यस्त हुन्छन्। विभिन्न मुलुकमा पुगेर आफूले अध्ययन गरेका अनुसन्धान प्रस्तुत गर्नुका साथै उनले चिकित्सकीय ज्ञान तथा सीप लिएका छन्।

चार वर्षअघि कोरियामा भएको मधुमेश सम्बन्धी (इन्टरनेश्नल डाइबेटिज फेड्रेशन कङरेश) सम्मेलनमा आफूले अनुुसन्धान गरेको विषयमा उनले पोष्टर प्रस्तुत गरे। त्यसैगरी केही महिनाअघि श्रीलंका गएर मधुमेहसम्बन्धी गरेको अनुसन्धान प्रस्तुत गरे।

साउन १९, २०८१ शनिबार १४:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।