‘होस्टेल ३’बाट डेब्यु गर्दैछन् ‘माग्ने बुढा’का छोरा आशिषदेखि ‘कुल ब्वाय’सम्मले!
काठमाडौं : निर्माणाधीन चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ।
भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए।
यसअघि प्रमुख भूमिकामा 'कुल ब्वाय' अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। यी प्रमुख कलाकारले पनि यही चलचित्रबाट डेब्यु गर्न लागेका हुन्।
अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे। आशिष ‘माग्ने बुढा’को नामबाट परिचित कलाकार केदार घिमिरेका छोरा हुन्।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए।
‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्। हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्।
टिकटकबाट चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित छन्। रिहान गिरी गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल'को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन्।
पदम तामाङ भारतको सिक्किमका कमेडी कलाकार हुन् भने सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्।
होस्टेल ३ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।
‘होस्टेल ३’लाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ।
यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।
साउन १९, २०८१ शनिबार १४:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।