खरिदपछि उपलब्ध नहुने खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन आईपीएल फ्रेन्चाइजीहरूको माग

खरिदपछि उपलब्ध नहुने खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन आईपीएल फ्रेन्चाइजीहरूको माग

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)का फ्रेन्चाइजीहरूले अक्सनमा खरिद गरिसकेपछि कुनै ठोस कारणविना सिजनका लागि उपलब्ध नहुने विदेशी खेलाडीलाई दुई वर्षको प्रतिबन्ध लगाउन माग गरेका छन्।

उनीहरूले विदेशी खेलाडीलाई मेगा अक्सन र रिटेन्सनमा सहभागी हुनका लागि अनिवार्य दर्ता गराउनुपर्ने भन्दै ठूलो रकम पाउने आशामा मिनी अक्सनमा सहभागी हुन नपाउने गरी नियम बनाउन समेत माग गरेका छन्।

३१ अगस्टमा भएको बैठकमा सबै १० फ्रेन्चाइजीहरूले दुवै बुँदामा आफ्नो सहमति दिएको ईएसपीएनक्रिकइन्फोले जानकारी दिएको छ।

आईपीएलका फ्रेन्चाइजीहरू विदेशी खेलाडीहरूले सिजन सुरु हुनुअघि नै व्यक्तिगत कारण देखाउँदै आफूलाई अनुपलब्ध बनाएकोमा खुसी छैनन्। विदेशी खेलाडीलाई ध्यानमा राखेर टोलीको रणनीति बनाइने भएकाले यसले उनीहरूको प्रदर्शनमा पनि प्रभाव पार्ने फ्रेन्चाइजीहरूले बताएका छन्।

आईपीएलका फ्रेन्चाइजीहरूले यदि खेलाडीहरूलाई बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आग्रह गरे वा उनीहरू घाइते भए वा पारिवारिक कामका कारण टोलीमा आउन नसकेमा अवस्थामा अनुमति दिने बताए। अक्सनको समयमा नै खेलाडीहरूको अनुपलब्धताको बारेमा थाहा भए राम्रो हुने उनीहरूको भनाइ छ।

धेरै पटक आधार मूल्यमा खरिद गरिएका खेलाडीले लिलामीपछि आफ्नो नाम फिर्ता लिने समस्या फ्रेन्चाइजीहरूले भोगेका छन्। उनीहरूले एक खेलाडीको उदाहरण दिँदै खेलाडीको व्यवस्थापकले बढी पैसा तिरेको खण्डमा सोही फ्रेन्चाइजीबाट खेल्न तयार हुने शर्त राखेका थिए।

२०२२ को अक्सनमा इशान किशनको लागि सबैभन्दा बढी बोली लागेको थियो, उनलाई मुम्बई इन्डियन्स (एमआई) ले १५.२५ करोडमा किनेको थियो। जहाँ २०२४ को लागि भएको मिनी लिलामीमा मिचेल स्टार्कलाई २४.७५ करोड भारुमा खरिद गरिएको थियो भने प्याट कमिन्सलाई २०.५० करोडमा खरिद गरिएको थियो।

यी मध्ये केही खेलाडी र तिनका प्रबन्धकहरूले यो प्रणालीको फाइदा उठाउन खोजेको र त्यसलाई रोक्नका लागि केही प्रावधानहरू गर्नुपर्ने फ्रेन्चाइजीहरूको भनाइ छ। नयाँ खेलाडीले मिनी अक्सनका लागि आफूलाई दर्ता गर्नसक्ने भए पनि ठूला खेलाडीहरू मेगा अक्सनका लागि उपलब्ध रहनुपर्ने फ्रेन्चाइजीहरूको माग छ।

साउन १८, २०८१ शनिबार १३:५९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।