‘नेपाल भारतकै हिस्सा थियो’ भन्ने विवादास्पद अभिव्यक्ति दिने अनिरुद्धाचार्य पशुपति कोटीहोममा

‘नेपाल भारतकै हिस्सा थियो’ भन्ने विवादास्पद अभिव्यक्ति दिने अनिरुद्धाचार्य पशुपति कोटीहोममा

काठमाडौं : नेपाल भारतको हिस्सा भएको विवादास्पद अभिव्यक्ति दिने प्रसिद्ध भारतीय कथावाचक अनिरुद्धाचार्यले पशुपति कोटीहोममा प्रवचन दिइरहेका छन्।

त्यसका लागि उनी शनिबार विहान नेपाल आएका छन्। डेढ घण्टाको कथा वाचनका लागि नेपाल आएका उनले पशुपतिनाथको दर्शनपछि कथावाचन गरिरहेका छन्।

कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अनिरुद्धाचार्यले नेपालको बारेमा भने विवादास्पद अभिव्यक्ति दिएका थिए। उनले आफ्नो कथा वाचनको क्रममा नेपाल भारतको हिस्सा भएको बताएका थिए।

उनले भनेका थिए, ‘गण्डकी नदी नेपालमा छ। भारतमै थियो तर नेपाल नै भारतबाट अलग भएपछि नदी पनि नेपालकै भयो। एक समयमा नेपाल भारत थियो।’

काली गण्डकी नदीबाट अयोध्यामा निर्माण हुने श्रीरामको मूर्ति बनाउन शिला लगेपछि उनले नेपाल भारतको हिस्सा भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

आफूले गल्ती बोलेकोमा उनले अहिलेसम्म माफी मागेका छैनन्। तर, उनी अनिरुद्धाचार्यलाई शनिबार मानव सेवा आश्रमले कथावाचकको रुपमा स्वागत गर्यो।

पशुपति कोटीहोममा आएका कथावाचकहरू कथावाचनका कारण बढी चर्चा र विवादमा छन्। यसअघि आएकी देवी प्रतिभाले डिभोर्सको विषयमा दिएको धारणा अनि विभिन्न कार्यक्रमा गएर झुट बोलेको भन्दै चर्चा भएको थियो।

त्यसपछि युकेबाट आएकी चन्द्रकला सखीले पनि गोरुले मयूर खान्छ भनेपछि विवादित बनेकी थिइन्। तर, उनले भने आफूबाट अञ्जानमा गल्ती भएकोमा क्षमा समेत मागिसकेकी छन्।

साउन १८, २०८१ शनिबार १३:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।