बङ्गलादेशको हिंसामा ३२ बालबालिका मारिएको युनिसेफको दाबी, सरकार भन्छ- ‘थाहा छैन’

बङ्गलादेशको हिंसामा ३२ बालबालिका मारिएको युनिसेफको दाबी, सरकार भन्छ- ‘थाहा छैन’

एजेन्सी : आरक्षण विरुद्ध बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनमा कम्तीमा ३२ बालबालिकाको मृत्यु भएको छ संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी संस्था युनिसेफका अनुसार मारिनेमा पाँच वर्षभन्दा कम उमेरका बालबालिका समेत छन्। मृत्यु भएकाहरू मध्ये धेरैजसो प्रदर्शनका दर्शक थिए।

बिबिसी बांङलाका अनुसार निजामती सेवामा कोटा प्रणालीको विरोधमा भएको प्रदर्शनमा २ सय बढी व्यक्तिको मृत्यु भइसकेको छ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले कोटा प्रणाली कटौती गरेको छ, तर विद्यार्थीहरूले प्रदर्शन जारी राखेका छन्।
अब मृत्यु भएका, घाइते भएका वा हिरासतमा लिइएकाहरूका लागि न्यायको माग गर्दै प्रदर्शन भइरहेका छन्।

एएफपी समाचार एजेन्सीका अनुसार, शुक्रवारको नमाज पछि बङ्गलादेशको राजधानी ढाकाको सबैभन्दा ठुलो मस्जिद बाहिर भेला भएको भीडले  हाम्रा भाइहरू चिहानमा छन्, हत्याराहरू बाहिर छन् भन्ने नारा लगाएका थिए।

रोयटर्स समाचार एजेन्सीका अनुसार सुरक्षा बलहरूले सडकमा आएका हजारौँ व्यक्तिहरूलाई अश्रु ग्यास र रबरका गोली प्रहार गर्दा कम्तीमा २० जना घाइते भए।
युनिसेफ दक्षिण एसियाका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले यस हप्ता बङ्गलादेशको भ्रमणका क्रममा बालबालिकाहरूलाई हिरासतमा लिइएको जानकारी पाएको बताए।

संस्थाले ३२ जना बालबालिकाको मृत्यु भएको पुष्टि गरेको र यो भयावह तथ्याङ्क भएको उनले बताए।

संयुक्त राष्ट्रसङ्घीय संस्थाका अनुसार मारिएकाहरू मध्ये धेरैजसो १३ वर्ष वा सोभन्दा माथिका थिए, एक जना पाँच वर्षभन्दा कम उमेरका थिए।

बङ्गलादेशका कनिष्ठ सूचना मन्त्री मोहम्मद अलि अरफातले युनिसेफको मृत्यु सङ्ख्याको बारेमा सरकारसँग कुनै जानकारी नभएको बताए।

'हामीलाई थाहा छैन उनीहरूले [युनिसेफ] कहाँबाट सङ्ख्या प्राप्त गरे,' उनले बिबिसीलाई भने,'जो कोही मारिएको छ, हामी अनुसन्धान गर्नेछौँ र अपराधीहरूलाई कानुनको दायरामा ल्याउनेछौँ।'

बिबिसीसँग कुरा गरेका चिकित्सकहरूका अनुसार, सुरुवाती प्रदर्शनहरूलाई दबाउन अत्यधिक बल प्रयोग गर्दा धेरैको मृत्यु भएको थियो।धेरै मृतक र घाइतेहरूलाई गोली लागेको थियो।

तर सरकारले केही प्रहरी अधिकारीहरू पनि मारिएको र अशान्तिका लागि राजनीतिक विरोधीहरूलाई दोष दिएको छ।

बिहीबार, यसले देशको मुख्य इस्लामवादी दल - जमात-ए-इस्लामी र यसको विद्यार्थी पङ्ख, इस्लामी छात्र शिविर - लाई प्रतिबन्ध लगायो।

साउन १९, २०८१ शनिबार १३:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।