वडाध्यक्षले सनाखत गरेपछि शान्तिमायाले ७६ वर्षमा पाइन् नागरिकता, वृद्धभत्ताको आवेदन पनि भरिन्

वडाध्यक्षले सनाखत गरेपछि शान्तिमायाले ७६ वर्षमा पाइन् नागरिकता, वृद्धभत्ताको आवेदन पनि भरिन्

रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्।

२००५ सालमा जन्मिएकी सुनुवारले सनाखत बसिदिने आफन्त नहुँदा ७६ वर्षसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन्।

नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका हुन्।

यसअघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक-पटक प्रयास गरेको भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूले नमानेको कारण नागरिकता बनाइदिन नसकेको वडाध्यक्ष नेवारले बताए।

उनका अनुसार ती महिलाको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखत बसिदिन भनेपछि नागरिकता बनेको हो।

बिहीबार नागरिकता बन्ने बित्तिकै शुक्रबार सामाजिक सुरक्षा भत्ताको लागि उनको फाराम भरिदिएको नेवारले बताए।

‘यति भएपछि कम्तीमा महिनाको ४ हजार रुपैयाँ आउँछ, एक जनाको दुःख-सुख जीविका चल्छ’, नेवारले भने।

शान्ति मायासँगै सोही वडाका तीन पुस्ता भित्र परिवारका अन्य सदस्य कोही नभएका ३० वर्षका धनराज सुनुवारले पनि बिहीबार नै नेपाली नागरिकताको  प्रमाणपत्र पाएका छन्। सनाखत बस्ने मानिस कोही नभएको कारण उनको पनि नेपाली नागरिकता बनेको थिएन।

उनको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका छन्।

‘धनराजको त बाबुको नामको जग्गाधनी पुर्जा थियो, नागरिकता बनाउन सहज थियो, तर शान्तिमायाको समस्या नै थियो, प्रमुख जिल्ला अधिकारीले समस्या बुझिदिएको कारण नागरिकता बन्यो’, उनले भने।

साउन १८, २०८१ शनिबार ११:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।