कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ।
शनिबार सार्वजनिक सूचना निकालेर बोर्डले भदौ २५ र २६ गतेका लागि परीक्षा तय गरेको जानकारी दिएको छ।
२५ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
तर, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिर्वाय अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा दिनुपर्नेछ।
त्यसैगरी २६ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा तोकिएको छ।
पूरक परीक्षा सहभागी हुनका लागि भदौ १४ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कबापत छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्नुपर्नेछ।
उक्त अवधिमा जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि भदौ १८ गतेसम्म बिलम्ब शुलकसहित प्रति विद्यार्थी १२ सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ १९ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचरसहितको बोर्डको सम्बन्धित कार्यालयहरूमा आवेदन बुझाइसक्नुपर्नेछ।
अन्य विषयमा ग्रेडिङ प्राप्त गरी दुई विषयमा नन ग्रेडिङ भएका वा अनुपस्थित भएका परीक्षार्थीले पूरक परीक्षामा सहभागी हुन पाउने छ।
यसका साथै बोर्डले नतिजामा चित्त नबुझेर पुनर्योगका लागि भदौ १ गतेभित्र अनलाइनमार्फत फारम भरी निवेदन दिन आग्रह गरेको छ। त्यसको लागि बोर्डको कार्यालय धाउनुपर्ने छैन।
साउन १८, २०८१ शनिबार ०९:३२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।