टिकटकविरुद्ध अमेरिकामा मुद्दा, १३ वर्ष मुनिका बालबालिकाको डेटा अनधिकृत सङ्कलनको दाबी

टिकटकविरुद्ध अमेरिकामा मुद्दा, १३ वर्ष मुनिका बालबालिकाको डेटा अनधिकृत सङ्कलनको दाबी

एजेन्सी :  गैर कानुनी रूपमा बालबालिकाहरूको डाटा सङ्कलन गरेको र अभिभावकहरूले आफ्ना बालबालिकाहरूको खाता मेटाउन खोज्दा जवाफ नदिएको आरोपमा अमेरिकी सरकारले टिकटक विरुद्ध नयाँ मुद्दा दायर गरेको छ।

दायर गरिएको उजुरीमा टिकटकलाई बालबालिकाहरूद्वारा सिर्जना गरिएका खाताहरूको जाँच गर्ने "अपर्याप्त" तरिकाहरू कार्यान्वयन नगरेको र अभिभावकहरूले तिनीहरूलाई मेटाउन खोज्दा बाधा पुर्याएको आरोप लगाएको छ।

उजुरीमा उल्लेख भए अनुसार २०१९ र २०२० बिच अभिभावकहरूबाट खाता रद्द गर्न गरिएका १,७०० अनुरोधमध्ये नोभेम्बर २०२१ मा ३०% अझै सक्रिय थिए।

उजुरीमा अदालतलाई टिकटकका कार्यहरू रोक्न आदेश दिन र प्रत्येक उल्लङ्घनका लागि जरिवाना निर्धारणका लागि माग गरिएको छ।

न्याय विभागका अनुसार १३ वर्ष मुनिका बालबालिकाहरूको जानकारी सङ्कलन गर्न अभिभावकको सहमति लिनुपर्ने कानुनको अवज्ञा गरेर कम्पनीले बाल गोपनीयताको गम्भीर उल्लङ्घन गरेको छ।


तर टिकटकले यी दाबीहरूलाई अस्वीकार गरेको छ। उसले बालबालिकाहरूको संरक्षण गर्ने आफ्नो प्रयास प्रभावकारी रहेको बतायो। यसले सक्रिय रूपमा नाबालिग प्रयोगकर्ताहरूलाई हटाउने र डिफल्ट स्क्रिन-टाइम सीमा र नाबालिगहरूका लागि अतिरिक्त गोपनीयता सुरक्षाहरू अपनाएको दाबी गरेको छ।

'हामी यी आरोपहरूसँग असहमत छौँ, ती धेरै विगतका घटना र अभ्यासहरूसँग सम्बन्धित छन् जुन तथ्यगत रूपमा गलत छन् वा सम्बोधन गरिएका छन्' टिकटकका एक प्रवक्ताले भने।

उजुरीले टिकटक र चिनियाँ मातृ कम्पनी बाइटडान्समाथि दबाब भने बढाएको छ।  पहिले नै अमेरिकामा कम्पनीलाई प्रतिबन्ध लगाउने धम्की दिने कानुनको विरुद्ध लड्दै टिकटक कानुनी लडाइमा छ।

साउन १८, २०८१ शनिबार ०९:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।