मौसम पूर्वानुमान : सुदूरपश्चिमसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : सुदूरपश्चिमसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ।

साउन १८, २०८१ शनिबार ०७:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।