फिल्म रावायणको टिजरमै 'हिंसाको पराकाष्ठा'
काठमाडौँ : कुनै समय काठमाडौँको कतै कोही मारिए काठमाडौँभर हङ्गामा मच्चिन्थ्यो रे। अहिले मर्नु, मार्नुले त्यति छुँदैन काठमाडौँलाई। माओवादी सशस्त्र द्वन्द्व 'योगदान'ले शवले भरिएको चौरका दृश्य पनि सहजै पच्यो नेपाली समाजलाई।
एनिमल जस्ता हिंसात्मक फिल्मलाई नेपालको सेन्सर बोर्डले सहजै स्विकार्यो। अनि ज्यानै सिरिङ बनाउने दृश्य पर्दामा हेरेर नेपाली दर्शक कमै तर्सिए, उल्टो रमाए। अर्थात् वास्तविक दैनिकीमा पचेको हिंसात्मक दृश्य पर्दामा आउँदा खासै फरक परेन।
साउथ इन्डियाको फिल्मी नगरीहुँदै बलिउडमा भित्रिएको जति सक्छौ हिंसात्मक दृश्य देखाउ, दर्शक तर्सिँदैनन्, रमाउँछन् भन्ने सूत्र नेपाली फिल्म क्षेत्रमा भित्रिनबाट कहाँ रोकिन्थ्यो र! अगस्त्यले नै हल्का प्रयास गरेकै थियो साउथ फ्लेवरको हिंसाको। तर दृश्य संयमितै देखाउने प्रयास भएको थियो।
रंगेलीमा पनि हल्का हिंसालाई मनोरञ्जनको रूपमा देखाउने प्रयास भएकै हो। तर दर्शकले यी दुवै फिल्मलाई त्यति सहजै स्विकारेनन्।
फिल्म रावायणको शुक्रवार रिलिज भएको टिजरका दृश्य हेर्ने हो भने त हिंसात्मक दृश्यमा यसले एनिमललाई नि माथ गराउने जस्ता अति हिंसात्मक दृश्य राखिएको छ।
काटमार, शरीरको अङ्ग छुट्टाउनु, मान्छे मार्नु सामान्य मनोरञ्जनात्मक दृश्य जसरी छ्यालब्याल पारिएको छ टिजरमा।
टिजर उत्कृष्ट, ट्रेलर राम्रो अनि फिल्म झुर निस्कनु नौलो हैन नेपाली कला क्षेत्रमा। अगस्त्य अनि रंगेलीको टिजर कम बबाल थियो र। तर हिंसात्मक दृश्यमा मात्र मिहेनत गरेर कथा र कथ्य शैलीमा बेवास्ता गर्दा फिल्म टिजरजति हिट हुन सकेन।
फिल्म रावायणको हकमा पनि यो लागू हुन्न भन्न सकिन्न। हैन यो फिल्म अपवादै निस्किएर टिजरका दृश्य जति हिंसात्मक देखियो फिल्म त्यो भन्दा बढी हिंसात्मक हो भने व्यापारमा के गर्छ भन्न सकिन्न तर नेपालको सबैभन्दा हिंसात्मक दृश्य भएको फिल्मको रेकर्ड चैँ पक्कै राख्न सक्छ। आगे सेन्सर बोर्डको जो मर्जी।
साउन १८, २०८१ शुक्रबार २३:३२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।