'भूत' भगाउने औँठी बेच्ने दुर्लभ व्यापारी राधाकृष्ण (फोटो कथा)
काठमाडौँ : नेवार समुदायको सांस्कृतिक र धार्मिक चाडहरूको शृङ्खलामा गथांमुगको विशेष महत्त्व छ। यो पर्व वर्षको पहिलो चाड मानिन्छ र यसले नेवार समुदायमा उत्सवको माहौल सुरु गराउँछ। भूतप्रेत आउन नदिन घरको मूलढोकामा त्रिखुट्टी किला ठोक्ने, पैंयुको मुन्टा सिउरिने र फलाम, पित्तल वा तामाका औँठी लगाउने परम्परा यस पर्वसँग जोडिएको छ।
राधाकृष्ण आफ्नो बुवाको निधनपछि यो व्यापार सम्हाल्दै आएका छन्। ७० वर्ष पुगेका नकर्मीको पसलले यो परम्परा सिङ्गो एक शताब्दीदेखि धानिरहेको छ।
उनले भने, 'यो व्यापार मात्र नभएर आफ्नो संस्कृति जोगाउने माध्यम पनि हो।'
नेवार समुदायले रोपाइँ सकिए लगत्तै घण्टाकर्ण पर्व मनाउँछन्। भूत पिशाचले दुःख नदेओस् र रोगव्याधी नलागोस् भन्ने कामनासहित यो पर्व मनाइन्छ। किंवदन्ती अनुसार, घण्टाकर्ण नामको राक्षसले जनतालाई दुःख दिन थालेपछि एकजना तान्त्रिकले भ्यागुताको सहयोगमा उसलाई मारेको खुसीयालीमा यो पर्व मनाउन थालिएको हो।
भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिन्छ। राक्षसले धेरै दुःख दिएपछि उसलाई समाएर गथांमुगको दिन चोकमा उभ्याएर बेलुकी खोलामा लगेर फालेको सम्झनामा घण्टाकर्णको दहन गरिन्छ।
दहनपछि खोलामा गएका मानिसहरू पोखरीमा नुहाउँछन्। यसपछि त्वानाः लायगु (नली खुट्टा छोप्ने) खेल खेल्ने चलन छ। राँगाको खुट्टा पोखरीमा फालेर जसले समाउँछ, उसले घर लागेर भोज बनाएर खाने चलन छ।
पुराना दिनहरू सम्झँदै नकर्मीले भने 'पहिला औँठी किन्ने मान्छे थोरै हुन्थे। यो धेरै ठाउँमा बनाउँथे। तर अहिले फलाम र तामाको औँठी बनाउने मान्छे नै छैन, त्यही भएर अहिले औँठी किन्ने मान्छेको भिड हुन्छ।'
फलाम र तामाका औँठीहरू अहिले दुर्लभ बनेका छन्, जसले गर्दा गथांमुगको दिनमा यी विशेष औँठीहरूको माग अत्यधिक हुन्छ।राधाकृष्ण नकर्मीको लागि यो व्यापार मात्र नभएर आफ्नो संस्कृति जोगाउने माध्यम हो।
'यो परम्परा हाम्रो पहिचान हो। यसलाई जोगाउनु हाम्रो कर्तव्य हो,' उनले भने। उनका अनुसार, यो पर्वले नेवार समुदायको एकता र आपसी समझदारीलाई प्रगाढ बनाउँछ।
उनले भने 'हाम्रो सांस्कृतिक पहिचानलाई मजबुत बनाउँछ र भविष्यका पुस्ताहरूलाई हाम्रो धरोहरको महत्त्व बुझाउन सकिन्छ।'
साउन १८, २०८१ शुक्रबार २१:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।