प्रधानमन्त्री ओलीले उद्घाटन गरेको हिल्टन होटलको नक्सा पास छैन, सिंहदरबार अगाडिको बसेराको अवस्था पनि उस्तै

काठमाडौँ : पार्टी कार्यालय बाढीले डुबेपछि एमालेको सचिवालय बैठक बसेको सिंहदरबार अगाडिको होटेल बसेरा सुरु भएको पाँच वर्ष भयो। पर्यटन विभागले होटेललाई पाँच तारेको मान्यता समेत दिइसकेको छ। तर भवनको नियमनकारी निकाय काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा होटलको नक्सा पासै भएको छैन।
एक साता अगाडि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल अनि गृहमन्त्री रमेश लेखकसहित सहभागी भएर भव्य रूपमा हिल्टन होटलको उद्घाटन गरे। यो होटेल कति तारे हो भनेर विभागले वर्गीकरण गरिसकेको छैन। प्रधानमन्त्रीसहित सहभागी भएर भव्य उद्घाटन भइसकेको यो होटलको नक्सा पास भएको तथ्याङ्क पनि महानगरमा भेटिएन।
उकेराले यी दुवै होटलको भवन निर्माण सम्बन्धी महानगरमा नक्सा पास भएको छ या छैन भनेर सूचनाको हक प्रयोग गरेर मागेको सूचनामा महानगरको शहरी व्यवस्थापन विभागले दिएको प्रमाणित पत्रमा 'नक्सालस्थित होटेल हिल्टन र सिंहदरबारस्थित होटेल बसेराको नाममा नक्सा पास भएको कम्प्युटर अभिलेखमा नदेखिएको भनी सम्बन्धित कर्मचारीबाट प्रतिवेदन पेस भएको’ उल्लेख छ।
महानगरको जिम्मेवार विभागका अधिकारीहरू होटलको नक्सा पास नभएको स्विकार्छन्। तर कारबाहीमा भने मौन छन्। उकेराकर्मी महानगरमा जानकारी लिन पुग्दा उनीहरू उल्टो' अस्ति उद्घाटनमा निमन्त्रणा आएको थियो, धन्न गइएनछ' भन्दै थिए।
हिल्टनको गन पोइन्टमा आइजिपीको कार्यकक्ष
यी दुवै होटलको नक्सा पास नहुनु मात्र संयोग हैन, दुवै सुरक्षा दृष्टिकोणले समेत संवेदनशील क्षेत्रमा छन्। सिंहदरबार क्षेत्र वरपर रहेका भवनहरूले निम्त्याउनसक्ने सुरक्षा जोखिमबारे भएको अध्ययनमा सिंहदरबारको नाकैमुनि रहेको बसेराबाट सिंहदरबारमा सुरक्षा जोखिम रहेको भन्दै भत्काउन सिफारिस भएको थियो। समितिले क्षतिपूर्ति दिएर भवन भत्काउन भनेकोमा त्यसबारे सरकारी निकायले कुनै पहल गरेको छैन।
यसबारे प्रहरी प्रधान कार्यालयका जिम्मेवार अधिकारीसँग जिज्ञासा राख्दा औपचारिक रूपमा प्रतिक्रिया दिन मानेनन्। ती अधिकारीले अनौपचारिक रूपमा हिल्टन निर्माण अगाडि प्रहरी प्रधान कार्यालयसँग सुरक्षाबारे कसैले पनि चासो नराखेको भन्दै ती अधिकारीले भने ‘यहाँ बिग्रिएपछि मात्रै चासो राख्ने हुन्। पहिल्यै सुरक्षाबारे कसैलाई चासै छैन।’
सो भवन बन्न थालेपछि प्रहरी प्रधान कार्यालयले पनि सुरक्षा जोखिमबारे चासो राखेको भने देखिएन। उता बसेराको अवस्था पनि उस्तै हो। सिंहदरबारको गेट नजिक त्यत्रो भवन बन्दा कसैले चासो राखेन। जब भवन होटलको रूपमा सञ्चालनमा आयो अनि मात्र सिंहदरबारको सुरक्षाबारे चर्चा सुरु भयो।
अनि सरकारले बसेरासहित सिंहदरबार वरिपरिका अग्ला भवनबारे अध्ययन गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गर्यो। समितिले २०७६ भदौ १५ मा बुझाएको प्रतिवेदनमा बसेरासहितका संरचनाले सिंहदरबार परिसरको सुरक्षा जोखिम बढाएको भन्दै आवश्यकताअनुसार अधिग्रहण, नियन्त्रण र भत्काउने लगायत सुझावसहितको प्रतिवेदन बुझाएको थियो। बसेरा मेडिकल व्यवसायी विशाल पण्डितको हो भने हिल्टन शङ्कर समूहको लगानीमा बनेको होटेल हो।
हिल्टन भन्छ, नक्सा पास छ, बसेराले भन्यो किन भन्ने
काठमाडौँ महानगरपालिकाको अभिलेखमा दुवै होटलको नक्सा पास भएको नदेखिएकोबारे हिल्टन र बसेराका अधिकारीसँग उकेराले जिज्ञासा राखेको थियो। हिल्टनका कर्मचारीले नक्सा पास भएको दाबी गरे। बसेराले पनि उस्तै जवाफ दिए।
’एउटा सानो भवनको त नक्सा छैन भने भत्काउने महानगरले हाम्रो जस्तो यति ठुलो भवन त्यत्तिकै बनाउन दिन्छ होला ?,’ हिल्टनका प्रोजेक्ट फाइनान्स अफिसर सुशान्त केसीले भने , ‘हामीले ०७५ सालमै नक्सा पास गरिसकेका छौँ । नक्सा पास बिना कसले गर्छ र। बरु भवन सम्पन्नताको प्रमाणपत्र चैँ आएको छैन । त्यो प्रक्रियामै छ ।’
हिल्टनले नक्सा पास गरेको दाबी गरेका उनले पास गरेको कागजपत्र भने देखाउन नमिल्ने बताए।
होटेल पक्षले ’पाँच तारे’को लागि निवेदन दिइसकेको भए पनि पर्यटन विभाग अनुगमनको लागि नगएको विभागले जनायो । जग खन्ने क्रममै सडक भासिए पछि पनि हिल्टन विवादमा आएको थियो ।
त्यस्तै बसेरा होटेलका एक अधिकारीले पनि नक्सा पास भएर नै भवन बनेको दाबी गरे। तर पास भएको कागजपत्रबारे असम्बन्धित व्यक्तिलाई किन भन्ने भन्दै अस्वीकार गरे। पर्यटन विभागबाट होटेलको वर्गीकरण समेत पाइसकेको होटलले नक्सा पासै गरेको छैन भन्नु गलत रहेको ती कर्मचारीले दाबी गरे।
दुवै होटेलका अधिकारीले महानगरबाट नक्सापास गराएरै होटेल निर्माण गरेको हो भन्ने दाबी गरे पनि उकेरालाई महानगरले दिएको लिखित पत्रमा भने ‘दुवै होटेलको नक्सा नदेखिएको’ उल्लेख छ।
किन त?
साउन १८, २०८१ शुक्रबार १९:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।