फिल्म निर्माणकैक्रममा नायक र निर्देशक समातिएको ‘रावायण’ को टिजर देखाउँदा भने कोही समातिएनन् है!
काठमाडौँ : कहिले फिल्म खेल्न नमानेको भन्दै नायकै प्रहरी हिरासतमा पर्ने त कहिले निर्देशन गर्ने बेलामा निर्देशक प्रहरी हिरासतमा पुग्ने गरेको फिल्म रावायणको धन्न सुटिङ सकियो।
फिल्म निर्माणको क्रममा सुटिङमा जाने बेलामा फिल्म खेल्दिन भनेको भनेर निर्माता तथा निर्देशन सुदर्शन थापा प्रहरी कार्यालय पुग्दा अनमोल केसी समातिएका थिए। प्रहरीको बल प्रयोग गरे पनि अनमोलले फिल्म खेल्न मानेनन्।
अनि पल शाहलाई लिएर निर्मात्रीमा अभिनेत्री पूजा शर्मा फर्किएर सुदर्शन थापा निर्देशनमा बसे। फिल्मको तयारी गर्दागर्दै फिल्म प्रसाद-२ अनधिकृत रूपमा प्रदर्शन गरेर ठगेको भनेर उजुरी परेपछि उनी पनि पक्राउ परे। धरौटीमा छुटेपछि उनी निर्देशनमा फर्किए।
पल शाहविरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्चमा ब्यूँतिए पनि यो बिचमा सुनुवाइ अगाडि बढेन। नत्र फिल्म रावायणमा अनुबन्ध टिमका तीन सदस्य पक्राउ परेर फिल्मले रेकर्ड राख्ने जोखिम थियो।
फिल्मको शुक्रवार टिजर भने रिलिज भयो। टिजर रिलिजमा त्यस्तो केही लफडा भएन है। टिजर सार्वजनिक गर्ने कार्यक्रममा फिल्मको निर्मात्री रहेकी पूजा शर्मा भने निकै ढिला आइन्।
नयाँ बानेश्वरको आइकम्प्लेस कार्यक्रममा बिहान १० : ४५ मिनेटमा पत्रकार बोलाए पनि उनी साँढे १२ बजेतिर हलमा आइन्। उपस्थितहरूलाई टिजर दुई पटक हेरिसकेर परिचयात्मक कार्यक्रम सुरु भइसकेको थियो।
परिचयात्मक कार्यक्रम चलिरहेको बेलामा उनी हलमा लुसुक्क छिरिन्। उनले हलमा प्रवेश गर्दा ढिला भएकोमा माफी मागेको सुनिएन। रुन जानेकी उनले माफी माग्न कहाँ जान्नु र! तेर्स्याएर टिजर देखाइयो। तेर्याएर टिजर देखाउँदा पनि अर्की अतिथि कलाकार प्रियङ्का कार्कीले हेर्न भ्याइनन्। तर युट्युबका लागि अन्तवार्ता दिन भने सबैभन्दा अगाडि देखिएकी थिइन्।
उनी भन्दै थिइन्,‘मलाई देखेर धेरै जना कलाकारहरू डराउनुहुन्छ। तर म उहाँहरूले सोचे जस्तो छुच्ची छैन।’
साउन १८, २०८१ शुक्रबार १६:४३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।