ईटी फाइभपछि स्काइवेल ब्रान्डको विद्धुतिय कार बीई ११ नेपाल भित्रँदै, रेन्ज चार सय १० देखि पाँच सय २० किलोमिटरसम्म
काठमाडौँ : स्काइवेल ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले स्काइवेलको 'बीई ११' नाडा अटो शोबाट बिक्री गर्ने गरी नेपाल भित्र्याउने तयारी गरेको छ। कम्पनीका अनुसार बीई ११ दुई ब्याट्रीको विकल्पसहित नेपाल ल्याउन लागिएको हो।
स्काइवेल बीई ११ ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्रीको विकल्पमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। जी मोटर्सका अनुसार स्काइवेल बीई ११ को अधिकतम खुद्रा बिक्री मूल्य समेत सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ को मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीयुक्त बीई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
५१.९२ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज र ७१.९८ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले ५ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जानकारी दिएको छ। यी दुवै विद्युतीय एसयूभीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको कम्पनीले जानकारी दिएको छ।
गत वर्षको भदौमा जी मोटर्सले स्काइवेल ब्रान्ड नेपालमा भित्र्याएको थियो। कम्पनीले स्काइवेल ब्रान्डको पहिलो गाडीका रूपमा ईटी फाइभ नेपाल ल्याएको थियो।
नाडा अटो शो २०२३ बाट औपचारिक बुकिङ एवम् ब्रान्ड सार्वजनिक गरेको जी मोटर्सले स्काइवेलको प्रिमियम तथा नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमीको दुरी एक पटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटरले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने विद्युतीय एसयूभी रहेको कम्पनीको दाबी छ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। स्काइवेल ईटी फाइभ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
स्काइवेल ईटी फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ। २०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ।
साउन १७, २०८१ शुक्रबार १६:१३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।