समयमा आइसियु नपाउँदा छोरी जन्माएको १२ घण्टामै अस्ताइन शिक्षिका सिर्जना

समयमा आइसियु नपाउँदा छोरी जन्माएको १२ घण्टामै अस्ताइन शिक्षिका सिर्जना

बुटवल : अस्पतालमा प्रसूति गराउँदा जटिलता निम्तिएपछि तत्काल आइसीयु नपाउँदा सिर्जना पौडेलले ज्यान गुमाउनु पर्यो। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर– ९ घर भई बुटवलमा बसेर रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयमा अङ्ग्रेजी अध्यापन गराउने शिक्षिका सिर्जना बुधवार ओम अस्पतालमा पुगेकी थिइन।

दोस्रो सन्तान जन्मिएको १२ घण्टामै उनको मृत्यु भयो। ओम अस्पतालमा उनलाई नियमित रूपमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शर्मिला शर्माले चेकजाँच गरेकी थिइन्। बुटवलकै आम्दा अस्पतालमा कार्यरत रहँदा शर्माले सिर्जना पहिलो पटक गर्भवतीहुँदा शर्माले नै चेकजाँच गरेकी थिइन।

दोस्रो सन्तान गर्भमा आएपछि सिर्जनाले उनै डा. शर्मिलासँग ओम अस्पतालमा नियमित चेकजाँच तथा परामर्श लिँदै आएकी थिइन।

डा. शर्माको परामर्शमै बुधवार बिहान सिर्जना अस्पतालमा पुगिन्। अस्पतालमा नियमित चेकजाँच भयो। त्यसपछि बच्चालाई अपरेसन गरेर जन्माउनुपर्ने सल्लाह अनुसार अपरेसन पनि भयो। बच्चा जन्मिएपछि सिर्जना ‘नर्मल’अवस्थामा थिइन। त्यसको केही समयमै चिकित्सकले ‘सिर्जनाको पिसाब नआएको र आइसीयुमा राख्नुपर्ने’ बताए।

तर ओम अस्पतालमा आइसीयु थिएन। सिर्जनालाई आफन्तले हतार-हतार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए। चिकित्सकले तत्काल रगत चढाउनुपर्ने बताए। आफन्त रगत खोज्न खटिए।

बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रगतका लागि आफन्त पुगे पनि त्यहाँ रगत पाएनन्। सेतो रगत आवश्यकता परेको चिकित्सकले सुल्झाए पनि त्यहाँ मेसिन बिग्रिएको भन्दै रगत उपलब्ध भएन। यता सिर्जना क्रमशः गल्दै गइन।

उनमा डव्लूवीसी बढी, हेमोग्लोबिनको कमी र जण्डिसको समस्या एकै पटक देखियो। अन्ततः श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि राती १२ बजे उनको निधन भयो।

मृतकका आफन्त गंगाधर भण्डारीले शल्यक्रिया हुने अस्पतालमा आइसीयु नभएकाले समयमै आइसीयुमा राख्न नसक्दा सिर्जनाको मृत्यु भएको बताए।

सिर्जनाको उपचारमा संलग्न अस्पतालकी डा.शर्मिला शर्माले अपरेसन र उपचारमा कुनै कमजोरी नभएको र उनले पिसाब नभएपछि आइसीयु चाहिने भएकाले आइसीयु भएको अस्पतालमा रेफर गरिएको बताइन।

‘रिपोर्टहरू नर्मल थिए। तर अकस्मात् आएको जटिलताले त्यो अवस्था आयो। लाखौँको डेलिभरी हुँदा निम्तिने जटिलतामध्ये एउटा हो यो’ उनले भनिन्।

साउन १८, २०८१ शुक्रबार १४:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।