कांग्रेसले जोगाइदियो ओलीको ‘नाक’
काठमाडौं : समावेशी सिद्धान्त बमोजिम मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसकी सांसद रुपा विकलाई राज्यमन्त्री नियुक्त गरेका छन्।
मन्त्रिपरिषद्मा दलितको उपस्थिति शून्य भएको आलोचना खेपिरहेका बेला प्रधानमन्त्री ओलीले विकलाई वन राज्यमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन्। नवनियुक्त राज्यमन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने कार्यक्रम छ।
विकसँगै नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरी संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्री र कांग्रेसबाटै पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन्।
पहिलो पटक प्रतिनिधि सभा सांसद् बनेकी उनी पहिलो पटक नै राज्यमन्त्री बनेकी हुन्। पहिलो पटक असार ३१ गते प्रधानमन्त्रीसहित २२ मन्त्रीले शपथ ग्रहण गर्दा कुनै दलले पनि दलितलाई मन्त्री बन्न सिफारिस गरेको थिएन।
मन्त्रिपरिषद् विस्तार भएपछि प्रधानमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चर्को आलोचना भयो। कतिपयले एमालेका छविलाल विश्वकर्मा, कांग्रेसका जीवन परियारको नामै लिएर उनीहरू मन्त्री बन्न किन अयोग्य भन्दै सत्ताधारी दलकै नेता तथा कार्यकर्ताबाट कुरा उठेको थियो।
चर्को आलोचना भएपछि एक दलित र एक जनजाती सांसदलाई राज्यमन्त्रीमा पठाएर कांग्रेसले प्रधानमन्त्री ओलीको नाक जोगाइदियो। कांग्रेसबाट राज्यमन्त्रीका आकांक्षीहरू थुप्रै भए पनि ओलीको आग्रहपछि रुपाको नाम पठाइएको हो।
साउन १८, २०८१ शुक्रबार १४:०३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।