राष्ट्रपतिबाट पाँच महिना कैद माफी पाएका चौधरी नाउपाबाट पर्यटन राज्यमन्त्री

राष्ट्रपतिबाट पाँच महिना कैद माफी पाएका चौधरी नाउपाबाट पर्यटन राज्यमन्त्री

काठमाडौँ : आगजनीमा अदालतबाट ६ महिना कैद सजाय तोकिए पनि पक्राउ नगरी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएर सांसद भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्।

नाउपाबाट सांसद भएका चौधरी अदालतबाट सजाय तोकिएका तर सजाय नभोगेका दोषी रहेकोबारे उकेराले समाचार प्रकाशित गरेपछि उनी २०७९ माघ १९ मा पक्राउ परेर जेल चलान भएका थिए।

६ महिना कैद सजाय तोकिएका चौधरीबारे राष्ट्रपतिबाट प्रजातन्त्र दिवस पारेर बाँकी कैद मिनाहा भएर फागुन १० मा रिहा भएपछि उनको निलम्बन फुकुवा भएको थियो।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी ६ महिना कैद सजाय सुनाइएर १३ वर्षदेखि फरार सूचीमा थिए। उनीमाथि अर्काको ट्याक्टर आगजनीको अभियोग लागेको थियो। अरुणकुमार, पर्शुराम अनि वीरबहादुर चौधरीले महादेव बजगाईँको ट्याक्टर जलाएकोमा ६ महिना कैद र ८ लाख १९ हजार दामासाहीले असुल्ने फैसला भएको थियो।

पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया-८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए।

सरकारी रेकर्डमा उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै नै फरार थिए।  अभियोग पत्र दर्ता भएपछि अदालतमा हाजिर नभइ फरारै रहेका उनी सांसद रहेको उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेपछि उनी पक्राउ परेका थिए।

केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिएको नाउपाबाट चौधरी राज्यमन्त्रीको रूपमा सरकारमा सहभागी भए। चौधरी संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्री भए। 

कांग्रेसबाट वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त भएका छन्।

सम्बन्धित समाचार

साउन १७, २०८१ शुक्रबार १३:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।