स्वर्णिमलाई बर्खास्त र रविमाथि छानबिन गरे रास्वपालाई ‘रवि लामिछाने क्लब’बाट मुक्त गर्न सकिन्छ : डा. मुकुल ढकाल

स्वर्णिमलाई बर्खास्त र रविमाथि छानबिन गरे रास्वपालाई ‘रवि लामिछाने क्लब’बाट मुक्त गर्न सकिन्छ : डा. मुकुल ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबाट मुक्त गर्नका लागि तीन सुझाव दिएका छन्।

शुक्रबार  एक विज्ञप्ति निकालेर डा. ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीबाट बर्खास्त गर्नुपर्ने, पार्टीको आर्थिक हिसाबकिताब र निर्णयलाई पारदर्शी जवाफदेशी बनाउनुपर्ने साथै वैकल्पिक शक्तिहरूको एकीकरण गर्नुपर्ने जोड दिएका छन्।

उनले दिएको पहिलो सुझावमा भनिएको छ, ‘कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटक(पटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नपर्छ।’

यस्तै उनले पार्टी सभापतिमाथि लागेका सबै आरोपहरू उपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन भई छानबिन गर्नुपर्ने बताएका छन्। सभापित लामिछानेले आफ्नो विगतप्रति पार्टी र जनतासामु पारदर्शी र जवाफदेही हुनपर्ने उनको भनाइ छ।

यसका साथै सम्पूर्ण वैकल्पिक एवं स्वतन्त्र शक्तिहरूलाई एकीकरण गरी वृहत् नागरिक सभाको माध्यमबाट राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्गठन गर्नपर्ने उनको धारणा छ। आफूले पेश गरेको समीक्षा प्रतिवेदनमा उठाइएका पार्टी सुधारका विषयहरूलाई समेटेर नवीन पार्टी निर्माण गर्न सकिने उनको भनाइ छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनका लागि पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्ने बित्तिकै आफूलाई रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले निष्कासन गरेको उनको दाबी छ।

त्यसविरुद्ध आफूले निर्वाचन आयोगमा पुगिसकेको जानकारी दिँदै उनले रवि लामिछाने प्रचण्ड र ओलीसँग मिलेर देउवासँग प्रधानमन्त्रीका लागि भित्रभित्रै बार्गेनिङ गरेको आरोप समेत लगाएका छन्।

डा ढकालले आफूमाथि राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा अनजानमा प्रस्तुतिमा शैलीजन्य केही त्रुटी भएको स्वीकार गरेका छन्। यद्यपि यसबीचमा आफूले एक शब्द पनि झुटो नबोलेको उनको दाबी छ।

साउन १७, २०८१ शुक्रबार १२:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।