आईपीएलको मेगा अक्सनबारे शाहरुख खान र नेस वाडियाबीच चर्को बहस

आईपीएलको मेगा अक्सनबारे शाहरुख खान र नेस वाडियाबीच चर्को बहस

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)को मेगा अक्सनबारे बलिउडका बादशाह शाहरुख खान र नेस वाडियाबीच चर्को बहस भएको छ।

शाहरुख खान आईपीएल  टिम कोलकाता नाइट राइडर्स (केकेकआर)का मालिक हुन् भने वाडिया पञ्जाब किंग्सका मालिक हुन्।

आईपीएलको २०२५ सिजनको सन्दर्भमा ३१ जुलाईमा बीसीसीआई (भारतीय नियन्त्रण क्रिकेट बोर्ड)को मुख्यालयमा सबै टोलीका मालिकहरू र बीसीसीआई अधिकारीहरू बीच बैठक भएको थियो।

बैठकमा केकेआरका मालिक शाहरुख खान आगामी सिजनको लागि मेगा अक्सनको विपक्षमा देखिए भने पञ्जाब किङका मालिक नेस वाडियाले मेगा अक्सनको पक्षमा देखिएका हुन्।

बैठकमा शाहरुखले पनि मिनी अक्सन हुनुपर्ने र सकेसम्म धेरै खेलाडी रिटेन गर्नसक्ने सुविधा दिनुपर्ने धारणा राखेका थिए। जबकि नेस वाडियाले यसलाई स्पष्ट रूपमा अस्वीकार गरे। यस विषयमा छलफल चलिरहँदा दुवैबीच आ–आफ्नो विषयमा बहस सुरु भएको थियो।

बहसका बीच टिमका सञ्चालक दुई समूहमा बाँडिएका थिए। इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार सनराइज हैदराबादकी मालिक काव्या मारन सहित चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र राजस्थान रोयल्सका मालिकहरू शाहरुखको पक्षमा देखिएका थिए।

अर्कोतर्फ, रोयल च्यालेन्जर्स बैंगलोर, लखनऊ सुपर जायन्ट्स, पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सका मालिकहरूले राम्रो टोली निर्माण गर्नका लागि मेगा अक्सनको विकल्प नभएको धारणा राखे।

दुई पक्षबीच बहस भए पनि बीसीसीआईले कुनै निर्णय भने नसुनाएको क्रिकबजले लेखेको छ। उसका अनुसार अहिले पनि टिमम ब्यालेन्स भएका टोलीहरू मेगा अक्सनमा जान चाहेका छैनन् भने टिमले राम्रो नतिजा ननिकालेका टोलीहरू भने मेगा अक्सनमार्फत राम्रा खेलाडी आफ्नो टिममा राख्न चाहन्छन्।

साउन १७, २०८१ शुक्रबार १२:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।