बोर्ड अध्यक्ष बन्न दिनेश र करिश्मादेखि यौन दुर्व्यवहारका आरोपी बलामीसम्मको दौडधूप

बोर्ड अध्यक्ष बन्न दिनेश र करिश्मादेखि यौन दुर्व्यवहारका आरोपी बलामीसम्मको दौडधूप

काठमाडौं : भुवन केसीको बिदाईसँगै सदाबहार आलोचित हुने चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ। आफ्नो दुई वर्षे कार्यकाल सकेर साउन ९ मा केसी बिदा भएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले योग्यता पुगेका फिल्मकर्मीका लागि दरखास्त आह्वान गरिसकेको छ। फिल्मकर्मीले दरखास्तका साथसाथै प्रधानमन्त्रीदेखि मन्त्री रिझाउन सक्रिय छन्।

पछिल्ला केही दिनदेखि बोर्ड अध्यक्षमा आफूलाई नियुक्त गर्न भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको ढोका-ढोकामा धाउन थालिसके फिल्मकर्मीहरू। पार्टीका कार्यकर्ता तह लगाउने ठाउँमा रूपमा परिचित बोर्डमा प्रधानमन्त्री तथा मन्त्रीले आफूनिकटका व्यक्तिलाई नियुक्त गर्दै आएका छन्।

नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय एमालेको भागमा परेको छ। मन्त्रालयको जिम्मेवारी पाएका छन् पृथ्वी सुब्बा गुरुङले।

एमाले निकट फिल्मकर्मी तथा सञ्चारकर्मी निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल, सांस्कृतिक संस्थानका पूर्व अध्यक्ष राजेश थापा र चलचित्र पत्रकार महासंघका अध्यक्ष समीर बलामीसम्म बोर्डको अध्यक्ष बन्ने प्रयासमा देखिए।

उनीहरू आफूलाई बोर्डको अध्यक्षमा सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्री गुरुङसँगको भेटलाई तीव्रता दिइरहेको देखियो। बोर्ड अध्यक्षका लागि अहिले नै आधा दर्जन भन्दा बढी आकांक्षी देखिए पनि यो संख्या अझै बढ्नसक्ने देखिन्छ।

बोर्ड अध्यक्षमा भुवन केसीको दुई वर्षे कार्यकाल सकिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसै साता बोर्डको नयाँ नेतृत्वको लागि प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक सूचना निकालिसकेको छ। मन्त्रालयका अनुसार, करिब डेढ महिनाभित्रै बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरिनेछ।

को कसलाई फकाउँदै छन्?
बोर्ड अध्यक्षको आकांक्षीको पहिलो नम्बरमा छन् सञ्चारकर्मी तथा निर्देशक डिनेश डिसी। एक महिना अघिदेखि बोर्ड अध्यक्ष बन्ने चर्चामा रहेका उनी एमालेमा पनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुटका हुन्। एमालेबाट मन्त्री छान्नेक्रममा गुरुङ भण्डारीको कोटामा मन्त्री बनेको चर्चा थियो।

डीसी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकटका रूपमा परिचित भएकाले अध्यक्ष बन्ने बाटो त्यति सहज भने देखिंदैन। 

उता चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धर पनि चर्चामा छिन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिन्छिन्।केहि वर्षअघि डा. बाबुराम भट्टराईको नयाँ शक्तिबाट एमालेमा प्रवेश गरेकी उनलाई ओलीले आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका थिए। 

प्रधानमन्त्री निकट भएको हुनाले उनी अध्यक्ष बन्नसक्ने सम्भावना बलियो देखिन्छ। उनी यतिबेला प्रधानमन्त्री तथा एमालेका शीर्ष नेतासँग पनि अध्यक्षका लागि लबिङमै छन्।

बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल पनि बोर्डमा पुनः दोहोरिने प्रयासमा छन्। उनी प्रधानमन्त्री ओलीका साथै पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाका प्रिय देखिन्छन्। २०७७ मा उनलाई बास्कोटाले नै बोर्ड अध्यक्षमा सिफारिस गरेका थिए।

बोर्ड अध्यक्ष बन्दा कोभिडको महामारीले फिल्म क्षेत्र तहसनहस भएको र हलसमेत बन्द भएकाले आफूले चाहेर पनि काम गर्न नसकेको भन्दै उनी पुनः बोर्ड अध्यक्ष बन्ने प्रयासमा देखिए।

नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले पनि बोर्ड अध्यक्ष बन्न चासो देखाएका छन्। उनी आफूलाई बोर्ड अध्यक्षमा सिफारिस गराउन एमाले नेताहरूसँग भेटघाट बढाएका छन्। आफूले फिल्म क्षेत्रमा गरेको योगदानको आधारमा बोर्ड अध्यक्ष बन्न योग्य रहेका उनको दाबी छ।

उनीसँगै फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा पनि बोर्ड अध्यक्ष बन्ने प्रयासमा देखिए। 

चलचित्र पत्रकार महासंघका अध्यक्ष समीर बलामी पनि बोर्डको अध्यक्षको दौडमा छन्। उनी दुई वर्षअघि यौन दुर्व्यवहारको आरोपमा परेका थिए। चलचित्र पत्रकार संघकी एक सदस्यले उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि संघले छानबिनका लागि समिती गठन गरेको थियो।

*छानबिन समिती गठन भएपछि उनले महासचिव पदबाट राजीनामा दिए। समितीको प्रतिवेदन संघले हालसम्म सार्वजनिक गरेको छैन। संघले बलामीमाथि कुनै कारबाही गरेन।

पीडित पक्ष कानुनी उपचारमा समेत गइनन्। उनै बलामी संघको नवौँ अधिवेशनमा अध्यक्षको उम्मेदवारी बने र निर्वाचित भए। उनी अध्यक्षमा निर्वाचित भएपछि संस्थाकी साधारण सदस्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दामा सङ्घ आफैँले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व स्वीकार्य नहुने भन्दै स‌घंका १९ सदस्यले राजिनामाको घोषणा गरेका थिए।

पार्टीको सिफारिसमा बोर्ड अध्यक्ष देखि सदस्यसम्म
दुई वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अभिनेता तथा निर्माता  केसीले एमाले हुँदै कांग्रेस प्रवेश गरे। उनी कांग्रेसबाट बोर्ड अध्यक्ष बनेपछि माओवादीका तर्फबाट रवि अधिकारी, राजु केसी र केएल बुढाथोकी लगायत बोर्डको सदस्यमा नियुक्त भए।

रंगपत्रकार समेत रहेका अधिकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उनी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका प्रिय पात्र हुन्। यता बोर्डको सदस्य तथा प्रवक्ता बनेका केएल बुढाथोकी तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको सिफारिसमा  बोर्ड सदस्य बनेका थिए।

यदि माओवादी कै सरकार रहेको खण्डमा बोर्ड सदस्य समेत रहेका केएल बुढाथोकी बोर्डको अध्यक्ष बन्न तम्सिएका थिए। तर, सरकार ढलेपछि उनी अहिले चुपचाप छन्।

के छ मापदण्ड?
चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा यसै ऐनअन्तर्गत बनेको नियमावली हेर्ने हो भने बोर्ड अध्यक्ष बन्नत्यस्तो कुनै योग्यता तोकिएको छैन।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा भने चलचित्र विकास बोर्डका अध्यक्ष बन्नका लागि केही मापदण्ड तोकिएका छन्।

बोर्डको अध्यक्ष बन्न ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने मापदण्ड छ। यस्तै स्नातक तह उत्तीर्ण गरेको अवस्थामा नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष कार्य गरेको हुनुपर्ने हुनुपर्छ।

तर, प्रवीणता प्रमाणपत्र वा सो सरह मात्र उत्तीर्ण गरेको भए यस क्षेत्रमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड उल्लेख छ। औपचारिकताको लागि आवेदन माग गरे पनि अन्तत: सरकारले राजनीतिक निकटताका आधारमा अध्यक्ष नियुक्त हुँदै आएको छ।

यसअघि भुवन केसी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस नेतृत्वको सरकारले अध्यक्ष बनाएको थियो। निवर्तमान अध्यक्ष केसीले अब उमेर हदका कारण आवेदन दिन पाउने छैनन्। यसपटक नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि प्रधानमन्त्री र सञ्चार मन्त्रालयको नेतृत्वमा एमाले रहेका कारण एमालेबाटै नियुक्ति हुने सम्भावना बढी छ।

बुधबार चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो। योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

* विवरण थप गरिएको।

साउन १८, २०८१ शुक्रबार ११:३२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।