कान्तिको क्रान्ति
बुटवल : वि.सं. २००८ सालमा तीन जना विद्यार्थीबाट सुरु भएको बुटवलको कान्ति माध्यमिक विद्यालयको शैक्षिक यात्रा ०८१ सम्म आइपुग्दा गर्व गर्न लायक मात्र बनेको छैन, देशभरका सामुदायिक विद्यालयका लागि अध्ययनको थलो समेत बनेको छ।
धर्म, जुठे र भरत तीन जना विद्यार्थीहरू कान्ति विद्यालयका पहिलो विद्यार्थी हुन्। सानो झुपडी, निजी घर र गाइगोठबाट सुरु भएको कान्ति विद्यालयको अहिले बुटवलको टुँडिखेलमा भव्य भवन छ।
कान्ति माविको पहिलो नाम गणेश जनता विद्या भवन थियो। वि.सं. २०१० सालमा गणेश प्राथमिक विद्यालय बुटवलको गणेश मन्दिरमा सञ्चालनमा थियो। त्यहि विद्यालय खस्यौली फुलबारीमा सञ्चालित जनता माध्यमिक विद्यालयसँग मिलाएर गणेश जनता विद्या भवन नामाकरण विद्यालय सञ्चालन भयो। पछि त्यहि विद्यालयको नामाकरण कान्ति विद्यालयको रुपमा गरियो।
बुद्धिबहादुर थकाली, जगतबहादुर श्रेष्ठ, द्धारिकाप्रसाद उदय जस्ता समाजसेवीहरूले घरबाट खाट, टेबल ल्याएर सञ्चालन गरेको विद्यालयले अहिले सुविधा सम्पन्न भवनबाट आफ्नो शैकिक्ष क्रियाकलाप चलाइरहेका छन्।
विद्यालयको चारैतिर ठूला–ठूला ढुंगा थिए। विद्यार्थीहरू ढुंगाको माझमा दौड्दा प्रायको खुट्टामा चोट लाग्थ्यो। त्यो बेला विद्यालयलाई गाई गोठ र घोडाका तबेला भनेर गिज्याउने गर्थे। यति मात्र होइन भीरवारी, ढाक्रे, सुकुम्बासीहरूको बासस्थल नै विद्यालय थियो।
विद्यालयमा जम्मा ६ वटा कोठा थियो। त्यो मध्ये दुई वटा कोठामा कक्षा सञ्चालन गर्न नसकिने अवस्था थियो। बाँकी ४ कोठामा कक्षा सञ्चालन हुने गर्दथ्यो।
२००७ मा प्रजातन्त्र आएपछि स्थापनाको प्रक्रियामा रहेको कान्तिले पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्रकालसम्म आइपुगेको छ। पञ्चायत कालमा कान्ति कम्युनिष्टहरूले शिक्षा लिने अखडाको रूपमा लिने गरिन्थ्यो।
कान्तिलाई कम्युनिष्टको विद्यालय, भट्टीवालको विद्यालय, ढाक्रेबारको विद्यालयका रूपमा पनि परिभाषित गरियो। कान्तिमा कम्युनिष्ट नेता जीवराज आश्रित, मोदनाथ प्रश्रित, ढुण्डीराज शास्त्री शिक्षक थिए। प्रश्रित कान्ति माबिको पहिलो प्रधानाध्यापक हुन्।
शिक्षामा फड्को
अञ्चलाधीश कार्यालय भैरहवाबाट बुटवल सरेपछि तत्कालीन अञ्चालाधीश टेक बहादुर रायमाझीले विद्यालय बारे जानकारी पाए। पानी चुहिने, ढलान फुटेर खस्ला जस्तो अवस्थामा विद्यालय थियो। त्यसपछि उनै रायमाझीले गारो मात्र उठाएर राखिएको दुई वटा कोठा टिनले छाउन त्यो समयमा ५ हजार दिए। छाना छाउने काम भयो।
विद्यालयले ०२६ सालमा माध्यमिक कक्षा सञ्चालन गर्ने स्वीकृत पाएपछि विद्यालयको नाम गणेश जनता विद्या हाइविद्यालय नामाकरण भयो। ०२९ सालमा नयाँ शिक्षा नीति लागु हुँदा विद्यालय गणेश जनता माध्यमिक विद्यालयको नाममा स्वीकृत भई सञ्चालनमा रहेको थियो । २०३३ सालमा श्री ५ कान्ति नमुना प्राथमिक विद्यालयसँग एकीकरण पछि श्री ५ कान्ति मावि नामबाट सञ्चालन भयो।
२०६२/६३ को आन्दोलनबाट राजतन्त्र हटेपछि विद्यालयको नाम कान्ति मावि हुन गएको विद्यालयका पूर्व प्राचार्य आनन्दप्रसाद श्रेष्ठले ‘श्री कान्ति उच्च मावि उन्नयनमा मेरो २९ वर्ष’ संस्करणमा लेखेका छन्।
कान्ति विद्यालयले पहिलो पटक वि.सं. २०२६ सालमा एसएलसी शुरु गरेको गरेको हो। ६ जना विद्यार्थीले एसएलसी दिएका थिए। तर, विडम्बनडा त्यो वर्ष कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
२०२८ सालसम्म पनि कान्तिबाट कोही एसएलसीमा पास भएनन्। ०२८ को इक्जाम्टेडमा रामकृष्ण भण्डारी उत्तीर्ण भएसँगै कान्तिले एसएलसीमा आफ्नो खाता खोलेको हो। वि.स. २०२९ साल पुसदेखि राष्ट्रिय शिक्षाको नयाँ कार्यक्रम आएपछि विद्यालय अवस्था क्रमश सुधार हुँदै गयो।
त्यसपछि वर्षबाट पनि कान्तिले सफलता प्राप्त गर्दै गयो। कान्तिका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार वि.सं. २०६० साल यता कान्तिले देशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। कान्ति ०६७ सालमा जिल्लामा सामुदायिक विद्यालय तर्फ प्रथम र द्धितीय स्थान हासिल गर्न सफल भएको थियो।
त्यस्तै ०६८ मा देशमै द्धितीय स्थान कान्तिले प्राप्त गरेको थियो। ९१ प्रतिशत ल्याएर मदन पाण्डेले कान्तिलाई उचाइमा पु¥याएका थिए। उनी सामुदायिक विद्यालय तर्फ देशभरमै दोस्रो स्थान प्राप्त गरेका थिए।
विद्यालयले गरेको प्रगतिकै कारण नेपाल सरकारले ०६८ र ०६९ सालमा राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मान गरेको छ। ०७१ सालमा पश्चिमाञ्चल प्रथम भएको विद्यालय ०७३ सालमा लुम्बिनी प्रदेश प्रथम भएको थियो। हाल विद्यालय आईएसओ मान्यता प्राप्त बनिसकेको छ।
२०६४ सालबाट उच्च मावि सञ्चालन गरेको कान्ति उच्च माविमा पनि राम्रा प्रगति गर्न सफल देखिएको छ। विज्ञान, मानविकी, शिक्षा, व्यवस्थान समूहमा अध्ययापन गराइरहेको कान्तिले उत्कृष्ट नतिजा ल्याएको छ।
२ विधा १५ कठ्ठा ३ धुर क्षेत्रफलमा फैलिएको विद्यालयमा अहिले ५ हजार ५५५ विद्यार्थीहरू रहेका छन्। कान्तिमा अध्यापन गराउने शिक्षकहरू पनि दक्ष रहेकाले शैक्षिक गुणस्तर बढ्दै गएको विद्यालयका प्राचार्य गोविन्द ज्ञवाली बताउँछन्।
विद्यालयमा कुल २२४ शिक्षक कर्मचारी छन्। त्यसमध्ये २४ जना मात्र स्थायी दरबन्दी हुन भने बाँकी २ सय जना नीजि स्रोतबाट राखिएको हो।
विद्यालयको शैक्षिक गुणस्तर सुधार यतिकै भने भएको होइन। स्थानीय सरकार मातहत आएपछि विद्यालयमा अनुगमन समेत छैन। त्यसैले विद्यालयको गुणस्तर बृद्धिका लागि विद्यालय आफैँले विज्ञ ल्याएर शैक्षिक सत्रको सुरुमै तालिम दिने गरेको प्राचार्य गोविन्द ज्ञवालीले बताए।
विद्यालयमा विषयगत विभागहरू छन्। एउटै विषयका शिक्षक २०/२५ जना भएकाले विभागहरू छुटटाइएको छ। यसले शिक्षकहरू बीच समन्वयन गर्न सहज हुने, स्तरिय प्रश्नपत्र निर्माण गर्न सकिने र कमजोरी भए सुधारका उपाय खोज्नमा मद्दत मिलेको उनले बताए।
विद्यालयले ३ वर्षदेखि कक्षा तीनसम्म भर्ना हुन चाहने विद्यार्थीहरूलाई सजिलै भर्ना लिने गरेको छ। त्यसपछिका कक्षाहरूमा भने स्थानीय स्तरलाई प्राथमिकता दिँदै स्तर मापन परीक्षा मार्फत भर्ना गर्दै आएको छ।
अझै पनि अभाव
घरबाट खाट र टेवल कुर्ची ल्याएर सञ्चालन भएको कान्ति विद्यालयमा अहिले भने सुविधा सम्पन्न भौतिक पुर्वधार तयार भएको छ। तर, प्रयाप्त छैन।
विद्यार्थीहरूको चाप बढ्दो छ। छात्राबास, शैक्षिक र प्रशासनिक भवनहरूमा गरी विद्यालयमा कुल १३५ वटा भन्दा कोठा रहेका छन्। सुविधा सम्पन्न छात्राबास विद्यालयमा छ। जहाँ अहिले पनि १ सय विद्यार्थीहरू रहेका छन्।
यति भवनहरू भए पनि शैक्षिक गतिबिधिका लागि संरचना अभाव रहेको छ। कक्षाकोठाको समेत अभाव रहेको छ। विद्यालयका प्राचार्य ज्ञवालीका अनुसार विद्यालयमा खानेपानीको कुनै बेला धेरै अभाव भएपनि अहिले भने खानेपानीको अभाव छैन। विद्यालयमा पिउने पानीका लागि आरओ प्लान्ट जडान गरिएको छ। जसले प्रति घण्टा १ हजार लिटर पानी छान्न सक्छ। छानिएको पानीलाई चिसो बनाएर विद्यार्थीहरूलाई सहज रुपमा दिने गरिएको छ।
प्राचार्य ज्ञवाली विद्यालयलाई सवैभन्दा आवश्यक शिक्षक दरबन्दी हो। जम्मा २४ जना मात्र विद्यालयमा स्थायी दरबन्दी रहेकाले नीजि स्रोतबाट २ सय शिक्षकहरूलाई तलव खुवाउनु परेको बताउँछन्।
‘नीजि स्रोतबाट राखेका शिक्षकलाई तलव खुवाउन र सञ्चालन खर्च धान्नकै लागि अभिभावक बाट सहयोग उठाउनुको विकल्प छैन्। यस तर्फ राज्यले गम्भिर भएर सोच्न जरुरी छ’, उनले भने ।
विद्यालयका अहिले मासिक खर्च नै १ करोड बढी छ। विजुलीको बिल मात्र मासिक २ लाख ३० हजार आउँछ। कान्तिले सटर निर्माण गरी आर्थिक उपार्जन समेत गरेको छ। ५० वटा सटर भाडामा दिएको कान्तिले वर्षमा त्यस बाट १२ लाख आम्दानी गर्ने गरेको छ।
अझै पनि विद्यालयमा १६ वटा कक्षा कोठाको अभाव छ। कक्षा ११ का विद्यार्थीहरू निस्केपछि मात्र कक्षा १० सम्मका विद्यार्थी कक्षा कोठामा जानुपर्ने बाध्यता छ।
‘कक्षा कोठा नहुँदा विद्यार्थीहरूमा ओभरल्याप छ । हामीले कक्षा सञ्चालन नै साढे १० बजे पछि मात्र गर्न सकेका छौँ’, उनले भने।
विद्यालयका ३ वटा आफ्नै बस छन् भने १५ वटा बस विहान र दिउँसो गरी भाडामा लिएको छ। विद्यार्थीहरूको चाप अत्याधिक हुँदा विद्यालयले बस राखेको हो। तर, विद्यालय बस घटाउने पक्षमा छ। प्राचार्य ज्ञवाली बसलाई कटौती गरेर नजिकका मात्र विद्यार्थीहरूलाई विद्यालयमा भर्ना गर्ने गरी लागेको बताउँछन्।
प्राचार्य ज्ञवालीले विद्यालयको अवस्थाका बारेमा कसैले पनि चासो नदिएकोमा दुःख व्यक्त गर्छन्।
‘एउटा विद्यालयले ६ हजार विद्यार्थी पढाएको छ। यो भनेको पहाडी क्षेत्रका १५/२० वटा विद्यालय बराबर हो। तर विद्यालय कसरी चलेको छ। के आवश्यकता छ भनेर कसैले साद्दैन। यो राज्यको विडम्बना हो। जहाँ आवश्यकता छैन् त्यहाँ दरबन्दी दिन्छ, जहाँ चाहिएको छ, त्यहाँ दिन्न’, उनले भने।
साउन १८, २०८१ शुक्रबार ०९:०९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।