भोटो देखाउने दिन साउन २० आइतबार

भोटो देखाउने दिन साउन २० आइतबार

ललितपुर : साउन २० मा भोटो देखाइन साइत जुरेको छ। बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएसँगै भोटो देखाउने साइत जुरेको हो। रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चार दिनमा भोटो देखाइन्छ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार रथ लगनखेलको ठटी टोलमा रोकिएको थियो। रथलाई बिहीबार जावलाखेल पुर्याइयो।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेलसम्म रथ तान्ने परम्परा रहेको छ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन रहेको छ। जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन्।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ। यो काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। भोटो देखाएपछि जात्रा समापन हुन्छ।

साउन १७, २०८१ शुक्रबार ०८:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।