कोरियोग्राफर जेरीको चोरी काम, 'बुझिन मैले' लाई 'काली पसौकी' मा मिसाए
काठमाडौँ : फिल्म बोक्सीको घरको व्यापारमा फिल्मको कथानक र निर्देशन भन्दा प्रमोसन गीत 'बुझिन मैले'को कोरियोग्राफीको भूमिका देखिएकै हो।
सुस्त हाइप भएको फिल्मलाई यो गीत रिलिज भएपछि टुप्पैमा पुर्यायो। कोरियोग्राफर सुनिल क्षेत्रीको मिहेनतमा केकी अधिकारीको इनर्जीले जादु गर्यो। गीतबाटै अधिकांश दर्शक हलसम्म तानिए भन्दा निर्देशकमाथि त्यति अन्याय हुन्न ल।
यो गीतको कोरियोग्राफी कति शक्तिशाली रहेछ भन्ने हालै रिलिज भएको एक तीज गीतको कोरियोग्राफी( वास्तवमा चोरियोग्राफी) ले पनि देखाउँछ।
'बुझिन मैले' नारीमाथिको सामाजिक दृष्टिकोण केन्द्रित थियो। यो अलि परिवार केन्द्रित छ। केकीको अभिनय पछ्याउन स्मारिका ढकालले मिहेनत गरेकी नै हुन्। तर सफल चैँ देखिइनन्।
गजबको ट्यालेन्ट देखाए यो गीतको कोरियोग्राफर जेरी भण्डारीले। ट्याक्क 'बुझिन मैले' को सेटअपदेखि गेटअपसम्म अनि ट्वाक्क इनर्जी र स्टेपसम्म ल्याएर तीजे गीतमा मिसाइदिएछन्। यसरी अर्काको सृजना टपक्कै टिप्न सुटिङ चैँ किन गर्या होला। एआइलाई लौ यो गीतमा केकीको ठाउँमा स्मारिका राखिदेऊँ अनि गीत 'बुझिन'को ठाउँमा 'काली पसौकी' बजाऊ भनेर कमान्ड दिएको भए भइहाल्थ्यो।
धन्न शान्ति श्री परियारले गाएको काली पसौकीको लय चैँ समीक्षा अधिकारीले गाएको 'बुझिन मैलेसँग मिलेको छैन है। तर चोरियोग्राफीको प्रभावले गीत नै उस्तै लाग्ने रैछ।
साउन १८, २०८१ शुक्रबार ००:५९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।