फ्रि भिसा, फ्रि टिकटमा विदेश जाने प्रक्रिया कार्यान्वयन गर्न सकिँदैन : श्रममन्त्री भण्डारी

फ्रि भिसा, फ्रि टिकटमा विदेश जाने प्रक्रिया कार्यान्वयन गर्न सकिँदैन : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन्। 

बिहिबार श्रम मन्त्रालयमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारी बढाएर वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको भन्दै विश्व बैंकलाई सहयोगको लागि अनुरोध गरे। 

मन्त्री भण्डारीले फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनमा समस्या रहेको भन्दै वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजाने कम्पनीले वा श्रमिक आफैँले लागत बेहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा, फ्रि टिकट हुन नसक्ने बताए। 

उनले अब सरकार वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको र आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न छिट्टै आन्तरिक रोजगार महाशाखा स्थापना गर्न मन्त्रालय लागि परेको बताए। 

‘फ्रि भिसा, फ्रि टिकटमा विदेश जाने भन्ने हुँदैन, कार्यान्वयन गर्न सकिँदैन। कि त श्रमिक लैजानेले कम्पनीले कि त श्रमिकले बेहोर्नुपर्ने हुन्छ’ उनले भने‚ ‘त्यसैले वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवा शुल्क तिर्नुपर्छ भन्ने विषयमा मन्त्रालय गृहकार्यमा लागेको छ।’

उनले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण गर्दै जब हबको रुपमा विकास गर्ने बताए।  

साउन १६, २०८१ बिहीबार २२:१२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।