नर्सिङ कलेजको सम्बन्धनमा संसदीय समितिको चासो, २२ वटालाई सम्बन्धन दिन निर्देशन

नर्सिङ कलेजको सम्बन्धनमा संसदीय समितिको चासो, २२ वटालाई सम्बन्धन दिन निर्देशन

काठमाडौँ :  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नर्सिङ कलेजको सम्बन्धनमा चासो राख्दै २२ वटालाई सम्बन्धन दिन निर्देशन दियो।

बिहीबार बसेको समितिको बैठकले निवेदन दिएका २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।

बिहीबार समितिले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का अधिकारीसँग छलफल गरेको थियो। छलफलपछि सिटिइभिटिमा निवेदन पुगेको २२ वटा संस्थालाई नर्सिङ पढाउने अनुमति दिन निर्देशन दिएको हो।

नर्सिङ शिक्षाको साउन १९ मा प्रवेश परीक्षा सञ्चालन हुँदैछ। आवेदन दिएका २२ वटा संस्थाले साउन १९ अगाडि नै सम्बन्धन पाएर विद्यार्थी भर्नाका लागि पहल गरेका थिए। उनीहरू राजनीतिक लबिङमा सक्रिय रहेकै बेलामा संसदीय समितिले समेत चासो राख्दै ती संस्थाहरूकै इन्ट्रेस्ट अनुसारको निर्देशन दिएको छ।

बिहीबार समितिले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बैठक तत्काल राखेर यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको हो।

साउन १७, २०८१ बिहीबार २०:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।