वैदेशिक रोजगारीमा जानबाट रोक्न नाबालिकाको अपहरण, तीन जना पक्राउ

वैदेशिक रोजगारीमा जानबाट रोक्न नाबालिकाको अपहरण, तीन जना पक्राउ

काठमाडौँ : ६ वर्षिया बालिकाको अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्जय पासवान, कलानन्द पासवान र सरिता पासवानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार साउन १५ मा दिउसो तीन बजेको समयमा सुनसरी दुहबी नगरपालिका स्थित मामा घरको आँगनमा खेली रहेकी ६ बर्षिय नाबालिकालाई सञ्जय पासवानले कोही कसैलाई नसोधी, मन्जुरी नलिई उठाई लिई गएका थिए।

अनुसन्धानमा नाबालीकाको ठुलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौँ गएको र सञ्जय पासवानले बालिकाको मामालाई फोन गरेर तेरो भान्जी मेरो कब्जामा छ, वैदेशिक रोजगारको लागी काठमाडौँ गएको तेरो दिदिलाई बोला अनि मात्र म बच्चालाई लिएर आउँछु’ भनेर धम्क्याएका थिए।

उनले दिदीलाई नबोलाए बालिका अरूलाई दिने भनेर धम्क्याएका थिए। सूचनाको आधारमा खोजीमा खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ/सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको टोलीले १६ गते बिहान ६ बजे विराटनगरमा रहेको कलानन्द पासवान र सरिता पासवानको डेरामा नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा फेला पारेको प्रहरीको दाबी छ।

प्रहरीले बालिकाको उद्धार गरी तीन जनालाई पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखेको जानकारी दिएको छ।

साउन १६, २०८१ बिहीबार २०:१९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।