मुकुललाई कारबाही गरेकोबारे रास्वपाले निर्वाचन आयोगलाई दियो जानकारी

मुकुललाई कारबाही गरेकोबारे रास्वपाले निर्वाचन आयोगलाई दियो जानकारी

काठमाडौँ : मुकुल ढकाललाई कारबाही गरेर महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट हटाएकोबारे राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगलाई बिहीबार जानकारी दिएको छ। पार्टीको असार २५ मा बसेको केन्द्रीय समितिको बैठकले उनीमाथि अनुसन्धानात्मक कारबाही गर्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको थियो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनीतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिन भित्र आयोगलाई बुझाउनु पर्ने व्यवस्था छ।

रास्वपाले एक महिना पनि नपुगी हेरफेरको जानकारी आयोगलाई बुझाएको हो। विवरणमा ढकाललाई पदमुक्त गरेर रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीलाई दिएको र रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रूपमा सह प्रवक्ता एवं सांसद मनिष झालाई दिएको उल्लेख छ।

पार्टीको कारबाहीको विरुद्ध ढकाल समेत आयोग पुगिसकेका छन्। उनले कारबाहीको विरुद्ध आयोगमा निवेदन दिएका थिए।

साउन १६, २०८१ बिहीबार २०:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।