स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा गर्ने मन्त्री सिंहको प्रतिवद्धता

स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गा चाँडै फुकुवा गर्ने मन्त्री सिंहको प्रतिवद्धता

काठमाडौं : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन्। 

बिहीबार सिंहदरबारमा आयोजित बधाई कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए। 

उनले भने, ‘स्मार्ट सिटी बनाउने योजनाको लागि जग्गा रोक्कामा रहेका कारणले समस्या भएको कुरालाई छिटै टुङ्गोमा पुर्याउनको लागि मन्त्रालयबाट गर्नुपर्ने कार्यलाई प्रभावकारी बनाएर अघि बढाउने कुरा राख्न चाहन्छु।’ 

उनले नदी सरसफाइ र फोहरमैला व्यवस्थापनको विषयलाई पनि तीनै तहको सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए। 

उनले भने, ‘उपत्यकाको मेयर फोरम र तीनै तहको सरकार मिलेर सामूहिक सहकार्यबाट नदी नालाहरूलाई स्वच्छ गर्नेतिर पनि ध्यान दिनुपर्छ र योजनाहरू बनाएर अगाडि बढ्नु पर्छ। समस्याहरू धेरै छन्। फोहरमैला व्यवस्थापन हुन सकेन भने धेरै समस्या हुन्छ।’ 

काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि लामो समयअघिदेखि उपत्यकाभित्रका केही पालिका अन्तर्गतको जग्गा रोक्का राख्दा परियोजनाले सार्थकता पाउन सकेको छैन।

रोक्का राखिएको जग्गाका जग्गाधनी आफ्नो सम्पत्तिको सदुपयोग गर्न नसकेको, सम्पत्ति विक्री समेत गर्नबाट बञ्चित भएकोलगायतका समस्या कारण पनि स्मार्ट सिटी आयोजनाका लागि रोक्का राखिएको जग्गा अबिलम्ब फुकुवा गरी स्थानीयवासीको समस्या सम्बोधनका लागि अनुरोध समेत गरिएको छ। 

साउन १६, २०८१ बिहीबार १९:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।