एमालेमा ओलीको विश्वास पात्र भएपछि नीति-नियमले पनि छेक्दैन!

एमालेमा ओलीको विश्वास पात्र भएपछि नीति-नियमले पनि छेक्दैन!

काठमाडौं : एमालेको बिहीबार बसेको सचिवालय बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्यो। त्यसमा मकवानपुरका महेश बर्तौला पनि अटाएका छन्। 

योसँगै बर्तौला एमालेमा जिम्मेवारी पाइरहने नेतामध्ये एक बनेका छन्। यसअघि उनी एमालेको सचेतक हुँदै प्रमुख सचेतक बनेका थिए। हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्य सचेतक समेत छन्। 

२५ असारको सचिवालय बैठकबाट एमालेले ‘एक व्यक्ति, एक जिम्मेवारी’को नीति अपनाउने निर्णय गरेको थियो। तर, त्यो निर्णय अध्यक्ष केपी ओलीको हकमा लागू नहुने भनिएको थियो। आज नेता बर्तौलाको हकमा पनि लागू नभएको देखियो। 

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई पराजित गरेका थिए।

त्यसयता अध्यक्ष ओलीको विश्वासपात्र भएर काम गरिरहेका छन्। त्यसैकारण पनि यसअघि कांग्रेस-एमाले गठबन्धनबाट मन्त्री बन्नेहरूको सूचीमा उनको समेत नाम चर्चामा थियो। 

एमालेको तर्फबाट संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) को संयन्त्रमा पनि बर्तौला नै छन्। 

यसअघि नयाँ सत्ता गठबन्धन बनेपछि कांग्रेस-एमालेले ओलीलाई प्रधानमन्त्रीको दाबी पेश गर्न जाँदा एमालेका तर्फबाट ओलीसहित बर्तौला पनि राष्ट्रपतिकहाँ गएका थिए। एमालेका अन्य शीर्ष तहका नेताहरू शीतलनिवास नगएर बर्तौला चाहिँ त्यसबेला जानुलाई धेरैले महत्त्वपूर्ण रहेको अर्थ्याएका थिए।  

साउन १६, २०८१ बिहीबार १८:१७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।