शान्ति निकुञ्जको कम्पाउन्ड भित्रै छ 'पार्टी प्यालेस', विद्यालयले पाएको १२ आना जग्गाको लालपुर्जा व्यक्तिको नाममा
काठमाडौँ : मरुहिटी चोकमै रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयको मुख्य गेटमा विद्यालयको नामसँगै ठुलो रातो ‘फ्लेक्स’ मा लेखिएको छ‘मरुहिटी ब्याङ्केट’। प्राय भीडभाड भइरहने यो व्याङक्वेट निजी जग्गामा हैन त्यही विद्यालयको जग्गामा खुलेको हो। जग्गा पनि सार्वजनिक।
काठमाडौँ महानगरपालिका वडा नम्बर २० मा रहेको यो विद्यालय ७९ वर्ष पुरानो हो। अनि व्याङक्वेट विद्यालयको कम्पाउन्ड भित्रै छ।
पार्टी प्यालेस सञ्चालक हुन् राजेन्द्र मानन्धर। २०७४ मङ्सिरमा विद्यालयका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज वन्त र पार्टी प्यालेस सञ्चालक मानन्धरबीच विद्यालयको जग्गामा १५ वर्ष पार्टी प्यालेस चलाउन दिने सहमति भएको देखिन्छ।
२००२ सालमा स्थानीय शिक्षा प्रेमीहरूको पहलमा राजा त्रिभुवन शाहले लालमोहर लगाएर शान्ति निकुञ्जको नाममा १८ रोपनी सात आना जग्गा दिएको देखिन्छ। लालमोहरको सर्त विद्यालय प्रयोजनमा मात्र प्रयोग गर्न मिल्ने, व्यापारिक प्रयोजन या बेचबिखन गर्न नमिल्ने छ। त्यही जग्गामध्ये तीन रोपनी सात आना जग्गा पार्टी प्यालेसले ओगटेको देखियो ।
तीन रोपनी सात आना जग्गा भोगचलन गरेवापत प्रारम्भमा महिनाको ५५ हजारमा भाडा दिने सम्झौता भएकोमा हरेक दुई वर्षमा बढ्दै जाने सर्त अनुसार अहिले पार्टी प्यालेस सञ्चालकले विद्यालयलाई महिनाको ७२ हजार भाडा बुझाउने गरेको देखियो। सर्त अनुसार तीन-तीन महिनामा विद्यालयले भाडा बुझ्ने गरेको छ।
तीन रोपनी सात आना जग्गामा पार्टी प्यालेस छ। १८ रोपनी ७ आनामध्ये एक रोपनी १२ आना जग्गा व्यक्तिले भोगचलन गर्दै आएका छन्। त्यसमा पनि थप १२ आनाको भोगचलन गर्न पाउने गरी लालमोहर भएको खुल्यो। १२ आना भोग चलनको अधिकार पाएका व्यक्तिले जग्गा अरूलाई नै बेचेर त्यसको लालपूर्जा समेत बनिसकेको खुल्यो।
भोगचलनको मात्र अधिकार पाएको जग्गा कसरी व्यक्तिको नाममा पास भयो विद्यालय नै जानकार देखिएन।
विद्यालयका प्रधानाध्यापक राधेश्याम प्रधान यहाँका स्थानीयहरूले पहिलादेखि नै विद्यालयको खाली जग्गामा भोज गर्ने गरेको र त्यसैले पछि पार्टी प्यालेसको रूप लिएको बताउँछन्।
विद्यालयमा खाली स्थान भएकाले समुदायको कुनै भोज हुँदा त्यही हुने गरेको देखियो। बिस्तारै भोज बापत विद्यालयले सहयोग उठाउन थाल्यो। र पछि त व्यापारिक प्रयोजनमा प्रयोग गर्नेगरि सम्झौता नै भयो।
‘म प्रधानाध्यापक भएको चार वर्ष भयो । यहाँ २०५१ साल देखि पढाउँदै आएको छु। त्यसबेला व्यवस्थापन समितिले के गर्यो हामीलाई जानकार हुने कुरा पनि भएन,’ प्रधानाध्यापक प्रधानले भने, ‘अहिले हेर्दा सम्झौता आफैंमा वैधानिक नदेखिए पनि विद्यालयको उद्देश्यमा खोट छैन। हाम्रो विद्यालयलाई समुदायसँग जोड्ने मध्यम वा जे भने पनि त्यही भोज गर्ने ठाउँ त हो।’
उच्चको आदेशमा खुल्यो ताल्चा
सामुदायिक विद्यालयको जग्गा व्यापारिक प्रयोजनमा प्रयोग भएको सूचनाको आधारमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले अनुगमन सुरु गर्यो। शैक्षिक गतिविधिमै असर पर्ने गरी भवन बनाएर भाडामा लगाएको देखिएका विद्यालयका व्यापारिक भवनमा ताल्चा लगायो टोलीले
सो टोली शान्ति निकुञ्जमा पनि पुग्यो। अन्य विद्यालयमा सटर भाडामा दिएको, विद्यालयको जग्गा भाडामा दिएर व्यापारिक कम्प्लेक्स बनाएको देखिएका थिए। यहाँ त विद्यालय परिसरभित्रै विद्यालयको शैक्षिक वातावरणमै प्रभाव पार्ने गरि पार्टी प्यालेस चलाएको देखियो। अनि महानगरको टिमले पार्टी प्यालेसमा ताल्चा लगाइदियो।
तर अन्य विद्यालयको क्षेत्र व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेका सञ्चालक जस्तै सो पार्टी प्यालेसका सञ्चालक पनि उच्च अदालत गए। १५ वर्षको सम्झौता रहेको र अवधि बाँकी हुँदा नै ताल्चा लगाएको उनको जिकिर थियो।
महानगरले यहाँको पार्टी प्यालेसमा जेठ ३१ मा ताल्चा लगाएको थियो। असार १२ मा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदियो। अनि ताल्चा खुल्यो। अहिले पार्टी प्यालेसमा भोजहरू चल्छन् दैनिक पठनपाठनमै अवरोध हुने गरी।
‘महानगरको कदम पनि नराम्रो त होइन। स्कुलकै भलाइका लागि त्यो गरिएको हो ,’ प्रधानाध्यापक प्रधानले भने , ‘तर महानगरले पनि हाम्रो बाध्यता बुझ्न पर्छ। हाम्रो आम्दानीको स्रोत त्यही भाडा हो।’
भोजका लागि भाडामा दिन बनाएको भवन बनाउन विद्यालयले समेत पैसा लगानी गरेको देखियो। भाडामा लिन चाहने पक्ष र विद्यालयले संयुक्त खर्च गरेर भवन बनाएको देखियो। त्यसबेला विद्यालयले ८/९ लाख रुपैयाँ खर्च गरेको प्रधानाध्यापक प्रधानले बताए।
वैधानिक देखिएन सम्झौता
विद्यालयले उकेरालाई उपलब्ध गराएको सम्झौता पत्र अनुसार २०७४ मङ्सिरमा विद्यालयले सम्झौता गरेको देखिन्छ । सम्झौता पत्रमा तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज वन्त र पार्टी प्यालेस सञ्चालक राजेन्द्र मानन्धरको मात्र हस्ताक्षर देखिन्छ। विद्यालय व्यवस्थापन समितिबाट भवन भाडामा दिने निर्णय भएको देखिएन।
२०७४ बाट सामुदायिक विद्यालय स्थानीय सरकारको मातहतमा आयो। तर विद्यालयले महानगर शिक्षा विभागमा जग्गा र भवन भाडामा दिनेबारे कुनै जानकारी गराएको देखिएन।
विभागका अनुसार जुनसुकै भवन बनाउँदा पनि विद्यालयले महानगरको शिक्षा विभागलाई जानकारी गराउनु पर्ने नियम छ। विभागले दिन मिल्ने/नमिल्ने निर्णय गरे पछि मात्र भाडामा लगाउन पाइन्छ।
विद्यालयको हातबाट फुस्किँदै जग्गा
शान्ति निकुञ्जको १८ रोपनी सात आना जग्गा रहेकोमा तीन रोपनी सात आना पार्टी प्यालेसले ओगटेको देखियो। बाँकी रह्यो १५ रोपनी। त्यसमा पनि पार्टी प्यालेसकै अगाडिको एक रोपनी १२ आना जग्गा पुस्तौँदेखि व्यक्तिले भोगचलन गर्दै आएका छन्।
लक्ष्मण महर्जनले जग्गामा खेती गर्दै बसिरहेका थिए। उनले त्यहाँ विद्यालय सञ्चालन गर्नु अगाडिबाटै आफ्नो पुस्ता यहाँ बस्न थालेको उनको दाबी छ।
केही समय अघिसम्म उनी विद्यालयमा काम समेत गर्थे। तर पार्टी प्यालेसमा ताल्चा लगाउन महानगर पुग्दा उनको घरमा समेत ताल्चा लगाएपछि उनी रुष्ट छन्। मन्दिरसँगै टाँसिएर उनले भित्र सानो छाप्रो हालेका छन्।
प्रधानाध्यापक प्रधानका अनुसार महर्जन विद्यालयको जग्गामा बहालमा बस्दै आएका थिए। वार्षिक १२ सय भाडा तिर्दै आएकोमा विद्यालयले मासिक पाँच हजार मागेपछि उनले काम छाडेका थिए।
महर्जनले एक रोपनी १२ आना ओगटेकाले अब विद्यालयको प्रयोजनका लागि १३ रोपनी ४ आना जग्गा बाँकी देखियो। त्यसैको १२ आना जग्गा व्यक्तिको नाममा लालपूर्जा बनिसकेको खुल्यो। अहिले विद्यालयले जम्मा १२ रोपनी ८ आना जग्गा मात्र भोगचलन गरेको देखिन्छ।
विद्यालयको जग्गाको अतिक्रमण बढेपछि तत्कालीन प्रधानाध्यापक बुद्ध शरण मानन्धरले कम्पाउन्ड लगाएर अनधिकृत रूपमा बसेकाहरूलाई हटाउने प्रयास गरे। अनधिकृत व्यक्तिहरूलाई हटाउनेक्रममा एक व्यक्तिलाई यहीको १२ आना जग्गा भोगचलन गर्न दिन पाउने लालमोहर फेला पारे।
उनले ती व्यक्तिलाई निकाल्न सकेनन्। महर्जनले विद्यालयमा काम गरिरहेकाले निकालेनन्। न्यून आर्थिक अवस्थाका भएका महर्जनले जग्गा भोगचलन गरे पनि दुरुपयोग गरेको देखिएन। तर १२ आना जग्गा भने व्यक्तिको नाममा गइसकेको देखियो।
जति जग्गा बाँकी छ त्यो पनि विद्यालयको नाममा छैन। सार्वजनिक जग्गा उल्लेख छ विद्यालयको जग्गा। सार्वजनिक जग्गा विद्यालयले कसरी व्यापारिक प्रयोजनमा प्रयोग गर्न दियो? यो नै छक्क पार्ने घटना देखियो।
भव्य भवन, खोक्रो कक्षाकोठा
छ सय बढी विद्यार्थी रहेको यस विद्यालयमा गत वर्षको एसइईमा सतप्रतिशत नतिजा आयो। स्थानीयसँग विद्यालयको राम्रो सम्बन्ध भएको दाबी गरिए पनि स्थानीय विद्यार्थीहरू भने कमै पढ्ने गरेको देखियो सो विद्यालयमा दरबन्दी र निजी गरेर विद्यालयमा २६ जना शिक्षक देखिए।
टहराबाट बनाएर शिक्षा दिन थालेको शान्ति निकुञ्जसँग अहिले विद्यालय परिसरमा तीन वटा भवन छ। भवनको संरचना र रंगरोगन नयाँ भए पनि अन्य संरचनाहरू भने निकै पुरानो देखिन्छ।
बर्सौँ पुरानो मक्किएको ’डेस्क,बेन्च’मा विद्यार्थीहरू बसिरहेका देखिए। यसको लागि करिब ८० सेट डेस्क-बेञ्च महानगरसँग माग गरेको दुई वर्ष भए पनि आफूहरूले नपाएको प्रधानाध्यापकले जानकारी दिए।
विद्यालयको एक भवन ५० वर्ष पुरानो भएकाले भत्कँदै गएको देखिन्छ। भूकम्पमा पूर्ण क्षति नभए पनि विद्यालयलाई ’रेट्रोफीट’ गरेन।
साउन १७, २०८१ बिहीबार १७:५९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।