राष्ट्रिय सभा दलित, महिला, उत्पीडितको समस्याप्रति संवेदनशील छ : अध्यक्ष दाहाल

राष्ट्रिय सभा दलित, महिला, उत्पीडितको समस्याप्रति संवेदनशील छ : अध्यक्ष दाहाल

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दलित, महिला, उत्पीडित जाति वर्गको विषयमा गम्भीर भएर छलफल गर्न आवश्यक रहेको बताएका छन्। 

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग संकल्प प्रस्ताव सम्बन्धमा भएको छलफलमा उनले आम जनताको समस्या भएको भन्दै सबैले संवेदनशील भएर छलफल गर्नुपर्ने बताए। 

उनले भने, ‘हामीले अहिले छलफल गरेका विषय सम्बोधन हुने तरिकाले संविधानमा पनि लेखिएको छ। दलितसँग सम्बन्धित मात्र होइन, धेरै सार्वजनिक महत्वका विषयहरू पास गरेका छौं। त्यो निर्णयहरू प्रायः अलपत्र हुने गरेका छन्। आजको समस्या यही हो। राष्ट्रिय सभा दलित, महिला, उत्पीडित जाति वर्गको विषयप्रति संवेदनशील छ।’

उनले यस्ता विषयहरू पारित भएर गएपनि कार्यान्वयनमा समस्या आएको भन्दै अहिलेको मुख्य समस्या पनि यही रहेको बताए। 

उनले भने, ‘यो विषयमा हामीले राष्ट्रिय सभामा पर्याप्त छलफल गरेर सर्वसम्मत तरिकाले नेपाल सरकार उच्च तहबाट प्रधानमन्त्रीलाई नै उपस्थित गराएर छलफल गरेका थियौं। र, यसलाई अगाडि बढायौं।।’ 

साउन १६, २०८१ बिहीबार १७:३७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।